प्रधानमन्त्री कोइराला आज अपरान्ह स्वदेश फर्कँदै

असोज १६, काठमाडौँ -संयुक्त राष्ट्रसङ्घको ६९ औँ महासभामा भाग लिन अमेरिका जानु भएका प्रधानमन्त्री सुशील कोइराला आज अपरान्ह स्वदेश फर्कँदै हुनुहुन्छ । महासभालाई प्रधानमन्त्री कोइरालाले यही असोज १० गते सम्बोधन गर्नुभएको थियो । महासभामा भाग लिने क्रममा न्यूयोर्कमा रहँदा उहाँले जलवायु परिवर्तन र सुरक्षा परिषद्सम्बन्धी सम्मेलनमा समेत सहभागिता जनाउनुभयो । महासभामा नेपालका तर्फबाट जलवायु परिवर्तनबाट मानव र प्रकृतिमा देखापरेको असरलाई घटाउने तथा जनसङ्ख्या व्यवस्थापन र विकाससम्बन्धी विषयलाई प्राथमिकताका साथ उठाइएको थियो ।

साथै भूपरिवेष्ठित र अल्पविकसित मुलुकले प्राप्त गर्नुपर्ने सुविधालगायतका विषयमा पनि नेपालले राष्ट्रसङ्घमा कुरा उठाएको छ । एक साता लामो न्यूयोर्क बसाइका क्रममा प्रधानमन्त्री कोइरालाले राष्ट्रसङ्घका महासचिव वान कि मुन, अमेरिकी राष्ट्रपति बाराक ओबामा, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ र बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना बाजेद तथा श्रीलङ्काका राष्ट्रपति महेन्द्रा राजपाक्षसँग भेटवार्ता गर्नुभएको थियो ।