समयमै संविधान आउँछ : प्रम कोइराला

असोज १५,  बेल्जियम -प्रधानमन्त्री सुशील कोइराला र युरोपियन कमिसनका अध्यक्ष जोसे मानुइल बारासोबीच आज भेटवार्ता भएको छ ।
कमिसनको मुख्यालय ब्रसेल्समा भएको भेटवार्तामा उनीहरुबीच नेपालको शान्तिप्रक्रिया, संविधान लेखन, युनियन र नेपालबीचको सम्बन्ध तथा सहयोगका प्राथमिकताका क्षेत्रबारे छलफल भएको थियो । सो अवसरमा प्रधानमन्त्री कोइरालाले नेपालको आर्थिक तथा सामाजिक विकासका साथै लोकतन्त्रलाई संस्थागत गर्ने सन्दर्भमा शान्तिप्रक्रिया, संविधान लेखनमा युरोपियन युनियनले पु–याउँदै आएको सहयोग र सद्भावका लागि धन्यवाद व्यक्त गरे ।

राजनीतिक दलहरुबीचको सहकार्य र सहमतिका आधारमा निर्धारण गरिएको समयसीमाभित्रै संविधान जारी गर्न लचकताका साथ सहज वातावरण बनाउने प्रयत्न गरिरहेको बताउँदै उनले नेपालको समृद्धिका लागि ईयूका तर्फबाट निरन्तर सहयोग प्राप्त हुने अपेक्षा व्यक्त गरे ।

त्यस अवसरमा अध्यक्ष बारासोले नेपालको शान्तिप्रक्रिया र संविधान लेखन कार्यमा युनियनले भरपर्दो मित्रका रुपमा सहयोग पु–याउँदै आएको विषयमा चर्चा गरेको परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव शंकरदास वैरागीले जानकारी दिए ।

प्रस्तावित लोकतान्त्रिक नयाँ संविधान जारी भएपछि लामो समयदेखि हुन जनप्रतिनिधिविहीन अवस्थामा रहेको स्थानीय निकायका निर्वाचन हुनेमा ईयू विश्वस्त रहेको बताउँदै अध्यक्ष बारासोले सहस्राब्दी विकास लक्ष्य हासिल गर्न नेपाल सफल भएको छ भनी सराहना  गरे ।

सन् २०२५ सम्ममा नेपाल अतिकम विकसित मुलुकको सूचीबाट रुपान्तरण भएर विकासशील राष्ट्रमा हुने विश्वास व्यक्त गर्दै उनले नेपालको ग्रामीण विकास, सुशासन प्रवद्र्धन र शिक्षाको क्षेत्रमा इयुको लगानी कायम रहने जानकारी दिए । जलवायु परिवर्तनबाट सिर्जना भएका समस्या न्यूनीकरण गर्न तथा अन्तर्राष्ट्रिय व्यापारमा पहुँच विस्तार गर्न ईयूले आर्थिक तथा प्राविधिक सहयोग पु¥याउने वचनसमेत सो अवसरमा दिएको थियो ।

संयुक्त राष्ट्रसङ्घको ६९औँ महासभामा भाग लिई स्वदेश फर्कने क्रममा प्रधानमन्त्री कोइराला सङ्घीय अधिराज्य बेल्जियम र लक्जेमबर्ग भ्रमणमा छन् ।

आज दिउँसो यहाँस्थित नेपाली दूतावासले नेपाली समुदायसँग आयोजना गर्ने अन्तरक्रियामा समेत प्रधानमन्त्री कोइराला सहभागी हुनेछन् । प्रधानमन्त्री कोइराला स्वदेश फर्कने क्रममा आज राति अबेर अवुधावी प्रस्थान गर्ने कार्यक्रम छ ।