क्यान्सर सतर्कता तथा प्रजनन अधिकार दिवस मनाइदै

असोज १०, काठमाडौँ-राष्ट्रिय क्यान्सर सतर्कता दिवस आज नेपालमा पनि बिभिन्न कार्यक्रम गरि मनाईदैं छ । दिवसको अवसरमा सरकारी तथा गैरसरकारी संघ संस्थाहरुले विभिन्न जनचेतना मुलक कार्यक्रम गरी मनाउँदैछन् ।  ‘क्यान्सर बारे जानकारी राखौं, सर्तका होउं, क्यान्सरलाई परास्त गरौं’ भन्ने नाराकासाथ सुर्ति, चुरोट तथा मद्यपान सेवनलाई निरुतसाहित गर्ने उद्येश्यले दिवस मनाउन लागिएको हो ।

विपिकोईराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनले अस्पतालको पन्ध्रौ स्थापना दिवस तथा दशौ राष्ट्रिय क्यान्सर सतर्कता दिवसका अवसरमा साताब्यापी कार्यक्रम गरिरहेको छ । आजपनि अस्पताल परिषरमा विशेष कार्यक्रम हुदै छ ।

अस्पतालको आग्रहमा आज चितवनका होटलमा क्यान्सर रोगको कारकका रुपमा रहेका सुर्ति तथा मदिराजन्य पदार्थको विक्री वितरण नहुने भएको छ । चितवन होटल व्यवसायी संघ र उद्योग बाणिज्य संघ चितवनले आज ड्राई डेका रुपमा मनाउने कुरामा ऐक्यबद्धता जनाएका छन् ।

यसैबीच गर्भपतनसम्बन्धी कानूनले मान्यता पाएको दिनको सम्झनामा आज नेपालमा प्रजनन अधिकार दिवस विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइदैछ । नेपालमा गर्भपतन सम्बन्धी कानुनले मान्यता पाएको आज १२ बर्ष पुगेको छ ।
कानूनी रुपमै सुरक्षित गर्भपतन गर्न पाउने गरी सरकारले कानून बनाएको दिनको सम्झनामा आजको दिनलाई प्रजनन अधिकार दिवसका रुपमा मनाईन्छ ।