कोरियामा फेरि लुके थप दुई खेलाडी

असोज १०,काठमाडौं – दक्षिण कोरियाको इन्चोनमा जारी १७ औं एसियन खेलकुद प्रतियोगिता (एसियाड)मा भाग लिन गएका थप दुई खेलाडी पनि बेपत्ता भएका छन् । यसअघि बुधबार सेपाकताको खेलाडी अमन पोडे भिजेल छाडेर भागेका थिए ।
बिहिबार उसुका निराजन आलेमगर र सोमवीर तामाङ पनि भागेको पत्ता लागेको छ । टिम व्यवस्थापकको मिलेमतोमै खेलाडीहरु भगाइएको आशंका गरिएको छ । नीराजनले उसुअन्तर्गत छाङ छवान र सोमवीरले ६५ केजी तौल समूहमा प्रतिष्पर्धा गरेका थिए । उसुबाट नेपालले पदकको आशा गरेका थिए ।
इन्चोनमा रहेका नेपाली खेलपत्रकारहरुका अनुसार सोमवीरले ७ असोज र निराजनले ८ असोजको बेलुका भिलेज छाडेका थिए । तर टिम व्यवस्थापक चन्द्र तामाङले बिहिबार बिहान मात्रै नेपाली टोलीका सेभ दी मिसन छिमी उर्केन गुरुङलाई खेलाडी सम्पर्कबिहिन भएको जानकारी गराएका थिए,त्यो पनि सोधपोछ गरेपछि । नेपाल फर्कन लागेको टोलीलाई विदाई गर्न गएका गुरुङले नीराजन र सोमवीरलाई नदेखेपछि सोधखोज गरेका थिए ।
यसैबीच,एसियाडमा दुई कास्यपदक जितेका तेक्वान्दो खेलाडी दीपक विष्टले कोरियामा नेपाली खेलाडीले देशको बेइज्जत गरेको बताए । ‘राष्ट्रको नाम उच्च पार्न गएका खेलाडी भागेका समाचार आउँदा हामीलाई नै लाज लाग्छ’ विष्टले भने । विष्टले राष्ट्रको माया गर्ने खेलाडी नलुक्ने समेत बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।