राजधानी छाड्न ४ दिन मै ५ लाखले टिकट काटे, टुलमा बसाए कारबाही हुने

असोज ९, काठमाडौं -दसैं मनाउनका लागि २० लाखभन्दा बढी सर्वसाधारण काठमाडौं उपत्यकाबाट बाहिरिने भएका छन् । सार्वजनिक सवारीसाधनको टिकट बिक्रीको आधारमा सो तथ्यांक आएको हो ।

अहिलेसम्म करिब १२ लाख सर्वसाधारण उपत्यकाबाट बाहिर गइसकेको विवरण प्राप्त भएको यातायात व्यवस्था विभागका महानिर्देशक काशीराज दाहालले जानकारी दिए । यस्तै, करिब ५ लाखले टिकट बुकिङ गरेको र अरनिको यातायातमा टिकट काट्नेको विवरण प्राप्त नभएको एवं निजी तथा साना गाडीबाट जाने यात्रुको समेत संख्या जोड्दा २० लाखभन्दा बढी हुने दाहालले बताएको राजधानीमा खबर छ ।

त्यस्तै टिकट बुकिङ खुल्ला हुनुअघि नै टिकट बिक्री गर्ने १२ बस व्यवसायीमाथि विभागले कारबाही गरेको छ ।

बढी भाडा लिए, टुलको टिकट दिए उजुरी गर्न आग्रह

यात्रुसँग तोकिएभन्दा बढी भाडा लिने र टिकट काट्दा पनि सिट नदिई टुल भनेर लेख्ने व्यासायीमाथि पनि कारबाही हुने भएको छ । सवारीसाधनको सिट क्षमताभन्दा बढी यात्रु बोक्न नपाइने भएकाले कसैमा यस्तो समस्या आए सहायता कक्षमा उजुरी गर्न विभागले आग्रहसमेत गरेकोछ ।

‘कसैले टिकट काट्दा टुलको टिकट पाउनुभएको छ वा तोकिएभन्दा बढी शुलक तिर्नुभएको छ भने यात्रु सहायता कक्षमा टिकट नम्बर वा टिकटको फोटोकपी दिनूस, त्यस्ता व्यवसायीमाथि हामी कारबाही गछौं,’ विभागका निर्देशक बसन्त अधिकारीले भने ।