रोयल क्यासिनो सञ्चालन गर्न सर्वोच्चको आदेश

असोज ७,काठमाडौं-५ महिनादेखि पूर्ण रुपमा बन्द भएको क्यासिनो रोयल सोमबार रातिबाट सञ्चालन भएको छ । गृहमन्त्रालयको निर्देशनपछि बन्द रहेको क्यासिनो सर्वौच्च अदालतको खुलाउने आदेश पछि पुर्ण रुपमा संचालनमा आएको हो ।  सर्बोच्चले गत शुक्रबार क्यासिनो रोयललाई सञ्चालन गर्न तथा सञ्चालनमा अवरोध नगर्न आदेश दिएको थियो । सर्वोच्चको त्यही आदेशबाट क्यासिनो रोयल सञ्चालनमा आएको हो । अन्य क्यासिनो भने सञ्चालनमा आएका छैनन् । रोयलले आर्थिक वर्ष २०६९÷०७० को क्यासिनो रोयल्टी २ करोड ५४ लाख ७५ हजार रुपैयाँ बुझाइ सकेको थियो । रोयल्टी बुझाएपछि पनि सरकारले क्यासिनो बन्द गराएको भन्दै सञ्चालक सुवेदीले प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालय, पर्यटन मन्त्रालय र गृहमन्त्रालयलाई विपक्षी बनाएर सर्वोच्चमा निवेदन दिएका थिए । रोयलमा ७ सय ५० कर्मचारी छन् ।

क्यासिनो सञ्चालन सुरु भएपछि लामो समय बेरोजगार बसेका कर्मचारीहरुले खुसी व्यक्त गरे । क्यासिनोमा नेकपा–माओवादीनिकट कर्मचारी युनियनका सचिव कुमार खत्रीले भने, ‘पाँच महिना बेरोजगार भएर बस्नु प¥यो, अब क्यासिनो चलेपछि समस्या समाधान भएको छ ।’ देशमा १० वटा क्यासिनो सञ्चालनमा थिए । सरकारले क्यासिनोको रोयल्टी वार्षिक २ करोडबाट बृद्धि गरेर ४ करोड र नवीकरण शुल्क १ करोड बनाएपछि सबै क्यासिनो बन्द भएका थिए । अब भने नयाँ नियमावली बनाएर रोयल्टी ३ करोड र नवीकरण ५० लाख रुपैयाँमा झार्ने पर्यटन तथा नागरिक उड्यान मन्त्रालयका अधिकारीसँग अनौपचारिक सहमति भएको छ । त्यही सहमतिअनुसार नियमावली आउने भन्दै अन्य क्यासिनो पनि सञ्चालन तयारीमा रहेका छन् ।

दश क्यासिनोमध्ये रोयलमात्र सञ्चालन भएको हो ।े क्यासिनो एसोसिएसन अफ नेपालका अनुसार अन्य क्यासिनो पनि सञ्चालन प्रकृयामा गएका छन् । उनीहरुले सरकारले तोकेको कर तिर्नु पर्ने वा रोयलको जस्तै सर्वोच्चको आदेश ल्याउनु पर्नेहुन्छ । देशका क्यासिनोमा झण्डै १० हजार मजदुर कार्यरत छन् । क्यासिनो रोयलबाहेक अन्य नखुलेका कारण मजदुरले समस्या भोगिरहेका छन् । नेपालका क्यासिनोहरुमा नेपालीलाई प्रवेश रोक लगाएको छ । प्रहरीले नेपालीलाई प्रवेश गराएमा कडा रुपमा प्रस्तुत हुने क्यासिनो सञ्चालकहरुलाई चेतावनी दिइसकेको जनाएको छ । पाँच दिनअघि सर्वोच्चले आदेश दिए पनि सर्वोच्चको आदेश गृहमन्त्रालय नपुग्दा सोमबार रातिसम्म रोयलले क्यासिनो चलाउन पाएको थिएन । ‘राति प्रहरीले सर्वोच्चको आदेशको जानकारी आएको र चलाउन हुन्छ भनेपछि क्यासिनो सुचारु भयो ।’ रोयलका एक कर्मचारीले भनेका छन् । क्यासिनो बन्द गराएपछि रोयलका सञ्चालक मनोज सुवेदी सर्वोच्च अदालत पुगेका थिए ।