सरकारबाट झण्डै हटाइएका थिए वामदेव

असोज ७, काठमाडौँ-उपप्रधानमन्त्री तथा गृहमन्त्री बामदेव गौतमलाई दशैंपछि सरकारबाट फिर्ता बोलाउने तयारी भइरहेको चर्चासँगै एमाले पंक्तिमा खैलाबैला मच्चिएको छ। गौतमको बिदाई प्रधानमन्त्री अमेरिका जानुअघि नै हुन लागे पनि उनले सार्क गृहमन्त्रीस्तरीय बैठक आयोजना गरिसकेका कारण यस्तो निर्णय नगर्न अध्यक्ष केपी शर्मा ओलीलाई भेटेरै आग्रह गरेको चर्चा पनि ओली निकट नेताहरूबीच चलेको छ।ओलीलाई अध्यक्ष बनाउन लागेका गौतमलाई सरकारबाट फिर्ता बोलाइहाल्ने आँकलन कसैले नगरे पनि अध्यक्ष ओलीलाई प्रधानमन्त्री कोइरालाबाट समेत दबाब परेको स्रोतको दावी छ। बामदेवलाई कांग्रेसका कसैले पनि विश्वास नगरेको र कार्यवाहक दिएर हिंड्ने अवस्था समेत नभएको भन्दै कोइरालाले गौतमलाई हटाएर अर्को जनता र कांग्रेस सबैले स्वीकार गर्ने नेता पठाउन आग्रह गरेको स्रोतले जनाएको छ। स्रोतले दशैंपछि बामदेवसहित एमाले र कांग्रेसका केही मन्त्रीहरूको बिदावारी हुने दावी गरेको छ।Bamdevयो पटक गौतमको निर्णय क्षमता कमजोर देखिएकोमा आलोचना भइरहेको छ। पहिले गृहमन्त्री हुँदा जुन क्षमता र साहस उनमा थियो त्यो अहिले नदेखिएको बताइएको छ। उनले सम्हालेको मन्त्रालयभित्र प्रहरी, सशस्त्र प्रहरीदेखि प्रमुख जिल्ला अधिकारीहरूको सरुवा बढुवामा समेत गौतम कमजोर देखिएको एमाले वृत्तमा चर्चा छ। गृह मन्त्रालयलाई गति दिन नसकेको र कमाण्ड गर्न नसकेको चर्चा उनको बारेमा चलेको छ।

एआइजीपीको बढुवामा स्वयम् गृहमन्त्रीले ब्रिफकेस बोकेको आरोप लगाउने रमेश खरेललाई कारबाही गर्नुको साटो आकर्षक ठाउँमा सरुवा गरिदा गौतम निरीह बनेका छन्। ‘या त उनले अब यो अन्तिम पटक हो भनेर जे आउँछ त्यही पचाउने र आफू केही पनि नगर्ने योजना बनाए या त उनको क्षमता खस्किएकै हो’ स्रोतले भन्यो। गृहमन्त्री बनाउन बाह्य शक्तिले शुरुदेखि नै नरुचाएका गौतमका लागि अब सहज दिन छैनन्।

गौतमको निवासमा उनका छोरा हरिशसँग चिनियाँ भाषामा कुरा गर्दै चिनियाँ कुटनीतिज्ञहरूको आवतजावत बारम्बार भइरहेको विषयलाई पनि भारतीयहरूले नरुचाएको चर्चा चलेको छ। गौतमको परिवार पछिल्लो समयमा उनलाई सफल बनाउने भन्दा पनि अब यही हो अन्तिम मौका भन्दै लामो हात गर्नतिर लागेको स्रोतको दावी छ।

एमालेबाट स्वास्थ्यमन्त्री खगराज अधिकारी, उर्जामन्त्री राधा ज्ञवाली र कृषि मन्त्री हरि पराजुली पनि फालिने लिष्टमा रहेको स्रोतले जनाएको छ। उनीहरूको ठाउँमा क्रमशः सोमनाथ प्यासी अधिकारी, शान्ता मानवी र बलराम बाँस्कोटाको नाम एकाएक चर्चामा आएको छ। बामदेवकै कारण दशैंअघि कांग्रेसका चार र एमालेका तीन मन्त्रीको जागिर थामिएको स्रोतले जनाएको छ। विक्लीनेपाल