संविधान बन्नेमा आशङ्का: खुमबहादुर खड्का

असोज ५, कैलाली-नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री खुमबहादुर खड्काले तोकिएकै समयमा संविधान बन्नेमा आशङ्का व्यक्त गरेका छन् । नेपाली काँग्रेस कैलाली क्षेत्र नं २ ले चिसापानीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले काग्रेसले संविधान बनाउन खोजे पनि प्रतिपक्षमा रहेको एमाओवादीसहितका विभिन्न दलहरुको अडानका कारण संविधान लेखनमा अवरोध सिर्जना भइरहेको आरोप लगाए । एक प्रसङ्गमा नेता खड्काले संविधानसभाको एजेन्डा धर्म निरपेक्षता नभएको जिकिर गर्दै विदेशीले पैसाको चलखेल गरेका कारण धर्म निरपेक्षता लाद्न खोजेको आरोप लगाए । उनले आफू धर्मनिरपेक्षताको विपक्षमा रहेको बताए । भेटघाट कार्यक्रममा नेता खड्कालाई वैदिक सनातन हिन्दू राष्ट्र नेपाल संस्थागत संयुक्त सङ्घर्ष समितिले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाउन नहुने माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।