रातदिन गरेर भएपनि संविधान आउँछ : सभासदहरु

असोज १, काठमाडौँ-संविधानसभाको बुधबारको बैठकमा अधिकांश सभासद्हरुले दिनरात छलफल गरेर भएपनि निर्धारित समयमानै संविधान जारी गर्नुपर्नेमा जोड दिएका छन् । संबिधानसभाअन्तर्गतको संबैधानिक राजनीतिक सम्बाद तथा सहमती समितिले बुझाएको प्रतिबेदनमाथिको छलफलमा सभासद्हरुले निर्धारित कार्यतालिकाभित्र संविधान जारी गर्नुपर्ने बताएका हुन् । नेकपा एमालेका सभासद् विष्णु पौडेलले माघ आठ गते संविधान जारी होला रुरुरु भन्ने जनताको प्रश्नको घेरामा संविधानसभा र सभासद्हरु परिसकेकाले जसरी पनि निर्धारित समयमै संविधान जारी गर्नुपर्ने बताउनुभयो । उहाँले छलफल, बहसको समय सकिएको भन्दै अब तोकिएकै मितिमा संविधान ल्याउनेगरी काम गर्नुपर्ने धारणा राखेका छन् ।

एकीकृत माओवादीका सभासद् हरिबोल गजुरेलले संविधान निर्माणमा संविधानसभा बाहिरको पक्षलाई समेट्ने आशा तत्काललाई तुहिएको भन्दै अब कुनै दलविशेषलाई दोष लगाएर पन्छिन नमिल्ने बताउनुभयो । उहाँले सहमति नभए प्रक्रियामा जान एकीकृत माओवादी सहमत भएपनि आन्दोलनकारी शक्तिहरुबीचमै सहमति नभईकन प्रक्रियामा जाँदा संविधान नबने मत राखे । गजुरेलले मुख्य दलहरु एक भएर अगाडि बढ्नुको विकल्प नभएको बताए । सभासद् शेरबहादुर तामाङले तोकिएकै मितिमा संविधान जारी गर्न संविधानका विवादित विषयमा संविधानसभाभित्रै खानेबस्ने व्यवस्था गरेरै भएपनि लगातार छलफल गर्नुपर्ने बताए ।

दलहरुबीच राज्य पुनर्संरचना, शासकीय स्वरुप, निर्वाचन प्रणालीलगायत विषयमा विवाद कायम छ । संविधानका अन्तर्वस्तुमा भएका सहमति र असहमति सहितको प्रतिबेदनमाथि शुक्रबारबाट छलफल शुरु भएको थियो । समिति सभापति बाबुराम भट्टराईले संविधानसभामा पेश गर्नु भएको प्रतिवेदनमा सभासदहरुले आज पनि धारणा राखिरहेका छन् ।यसैबीच, संविधानसभाको आजको बैठकले संविधानसभाका पूर्वसदस्य पोष्टबहादुर बोगटीको निधनमा गहिरो शोक प्रकट गर्दै शोक प्रस्ताव पारित गरेको छ ।