चौबीस घण्टे प्रसूति सेवा बन्द

असोज १, महोत्तरी-जिल्ला अस्पताल जलेश्वरले दिँदै आएको शल्यक्रियासहितको २४ घण्टे प्रसूति सेवा अहिले बन्द भएको छ ।अस्पताल स्रोतका अनुसार विगत पाँच महिनादेखि दातृ निकायको सहयोगमा दिँदै आएको सो सेवा विशेषज्ञ र उपकरणका अभावमा बन्द गरिएको छ । दातृ निकाय ‘निक साइमन इन्टरनेसनल’ काठमाडौँको सहयोगमा गत वैशाखदेखि सो अस्पतालमा निःशुल्क शल्यक्रियासहितको प्रसूति सेवा सञ्चालन गरिएको थियो ।  सो सेवाका लागि अस्पतालमा खटिएका एनेस्थेसिया राजकुमार साहको सरुवा तथा दक्ष चिकित्सकले समय नदिएको, स्त्री रोगविशेषज्ञको अभाव र प्रसूति सेवाका लागि चाहिने महत्वपूर्ण उपकरण अस्पतालमा नरहेकाले प्रसूति सेवा बन्द गरिएको अस्पतालले जनाएको छ । अस्पतालमा आइसियू कक्ष र व्यवस्थित प्रयोगशाला नभएको, अल्ट्रासाउन्डलगायत आधारभूत उपकरण र ब्लड बैंकको अभावका कारण २४ घण्टे प्रसूति सेवा बन्द गरिएको अस्पतालले जनाएको छ ।  जिल्ला अस्पतालमा प्रसूति सेवा बन्द गरिएपछि जिल्लावासी सुरक्षित प्रसूति गराउन महँगो खर्च गरेर जनकपुर तथा भारतको सुविधासम्पन्न अस्पतालमा जाने गरेका छन् भने विपन्न परिवारका अधिकांशले जोखिमपूर्ण रूपमा घरमै प्रसूति गराउन बाध्य भएका छन् ।   होत्तरीमा प्रसूति गराउने १५ हजार १३८ महिलामध्ये १५ प्रतिशत जटिल अवस्थाका हुन्छन् । तीमध्ये ७५७ को शल्यक्रिया गर्नुपर्छ । २५ शय्या क्षमताको सो अस्पतालमा सेवा सञ्चालनपछि प्रसूतिले सात हजार रुपैयाँभन्दा बढीको निःशुल्क औषधि र उपचार पनि पाउने गरेका थिए् ।  बच्चा जन्मिसकेपछि पनि आमा र बच्चाको स्वास्थ्य जाँच र आवश्यक रेखदेख गरी पूर्ण स्वास्थ्य अवस्थामा मात्र घर पठाइने गरेका थिए । सुत्केरी व्यथा लागेर आएकामध्ये जटिलो अवस्था देखेर जनकपुर पठाउँदा समयमै पुग्न नसक्नाले अकालमै ज्यान गुमाउने गरेका थिए ।