बेपत्ता छानबिन आयोग गठनको अन्तिम चरणमा मन्त्री आचार्य

असोज १, काठमाडौँ-कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्री नरहरि आचार्यले बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग गठनसम्बन्धी काम तीव्र गतिमा अघि बढाइएको स्पष्ट गरेका छन् । सामाजिक न्याय तथा मानवअधिकार समितिको बुधबार सम्पन्न  बैठकमा संवैधानिक परिषद्का अध्यक्ष एवम् प्रधानमन्त्री सुशील कोइरालाका तर्फबाट जवाफ दिँदै उनले दुवै आयोगमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्न गठन भएको समितिले आफ्नो काम अन्तिम चरणमा पु¥याएको जानकारी दिएका छन् । उनले पूर्व प्रधानन्यायाधीश ओमभक्त श्रेष्ठको अध्यक्षतामा गठित सिफारिस समितिले आयोगका अध्यक्ष र सदस्यहरूको नियुक्तिसम्बन्धी छनोट प्रक्रिया सार्वजनिक गर्ने चरणमा पुगेको छ, एक दुई दिनमै त्यो सार्वजनिक भई आवश्यक काम अघि बढ्ने बताएका छन् । राष्ट्रिय मानवअधिकार आयोगमा पदाधिकारी नियुक्ति तथा बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग गठनबारे संसदीय समितिलाई जानकारी दिँदै मन्त्री आचार्यले राष्ट्रिय मानवअधिकार आयोगमा पदाधिकारी नियुक्तिको तयारी अन्तिम चरणमा पुगेको र  भोलि हुने संवैधानिक परिषद्को बैठकले निर्णय गर्नेमा म विश्वस्त भएको बताएका छन् ।