स्व. पोष्बहादुर बोगटीको जीवनी

नुवाकोट जिल्ला तुप्चे गाविस–२ को भित्रिनिटार गाउँमा बोगटीको जन्म २०१० सालमा भएको हो । बुबा भैरवबहादुर बोगटी र आमा लेखकुमारी बोगटीको कोखबाट उहाँ निम्न मध्यमवर्गीय परिवारमा जन्मिनुभएको थियो । बुबा भैरवबहादुर बोगटीको सरल, मिलनसार र समाजसेवी कार्यबाट प्रभावित भई बोगटीे पनि सानैदेखि सामाजिक कार्यमा अभ्यस्त हुनुभएको थियो । समाजसेवी हुँदै राजनीतिमा प्रवेश गर्नुभएका उहाँ सरल र मिलनसार स्वभावको हुनुहुन्थ्यो । उहाँको विवाह २०३५ सालमा नुवाकोट जिल्लाको आगापुटार निवासी राममाया बोगटीसँग भयो । बोगटीका एक छोरा र दुई छोरीमध्ये छोरा रवि विद्यार्थी राजनीतिमा सक्रिय रहेका बेला २०५८ सालमा धादिङको सत्यदेवीमा तत्कालीन सुरक्षाकर्मीको आक्रमणमा मारिनुभएको थियो । बोगटीका दुई छोरीमध्ये जेठी छोरी प्रतिभा बोगटी थारुवान राज्य समिति सदस्य हुनुहुन्छ र दाङ जिल्लामा क्रियाशील हुनुहुन्छ । कान्छी छोरी प्रभा बोगटी केन्द्रीय सूचना सञ्चार ब्युरोअन्तर्गत प्रचारप्रसार राज्य समिति सदस्य हुनाका साथै पत्रकारितामा आबद्ध हुनुहुन्छ । श्रीमती राममाया बोगटी सङ्घीय जनसम्पर्क मध्य जिल्ला सङ्गठन समितिको सदस्य एवम् अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)का जिल्ला संयोजक तथा नुवाकोट काठमाडाँ सङ्घीय जनसम्पर्क मञ्चको अध्यक्षसमेत हुनुहुन्छ । बोगटीका परिवार जनयुद्धकालदेखि नै राजनीतिमा सक्रिय छन् ।

राजनीतिक यात्रा र जिम्मेवारी

समाजसेवीको छवि भएका बोगटीले २०३५ सालमा राजनीतिक यात्रा सुरु गर्नुभयो । पारिवारिक र सामाजिक पृष्ठभूमिले कम्युनिस्टप्रति लाग्ने प्रेरणा आफूलाई मिलेको बोगटीले रासस प्रतिनिधिसँग बताउनुभएको थियो ।  चीनमा सर्वहारा साँस्कृतिक क्रान्तिका बेला २०२५ साल आसपास आफूमा कम्युनिस्टप्रतिको आस्था बढेको उहाँको सम्झना थियो । विसं २०३४ मा पुष्पलाल समूहमा सङ्गठित भई २०३७ सालमा संयुक्त चौममा आबद्ध हुनुभयो ।

संयुक्त चौथो महाधिवेशनसम्ममा उहाँ जिल्ला समिति सदस्य भइसक्नुभएको थियो । विसं २०४४ तिर उहाँले अखिल नेपाल किसान सङ्घको अध्यक्ष भएर देशमा किसान आन्दोलनको नेतृत्व गर्नुभयो । त्यतिबेला बोगटीकै अग्रसरतामा बारा, पर्सा, रौतहटलगायत तराईका जिल्ला र पहाडमा समेत किसानको आन्दोलन अघि बढेको थियो । विसं २०४० मा मसालको जिल्ला सचिव हुनुभयो । विसं २०४३ मङ्सिरमा क्षेत्रीय ब्युरो सदस्य, २०४४ मा केन्द्रीय सदस्य, २०४८ मा कर्णाली इन्चार्ज, यसपछि भेरी–कर्णाली उपब्युरोको इन्चार्ज, २०५३ सालमा पश्चिम ब्युरो सङ्गठनको इन्चार्ज हुँदै पार्टी स्थायी समिति सदस्यका रुपमा जिम्मेवारी सम्हाल्नुभयो ।

शान्ति प्रक्रियामा माओवादी आएपछि उहाँले माओवादीको पश्चिम कमाण्डको इन्चार्ज रही जिम्मेवारी सम्हाल्नुभयो भने एमाओवादी बहुपदमा गएपछि पार्टीको सचिवको भूमिका निर्वाह गर्नुभयो । विसं २०६९ मा हेटाँैडामा सम्पन्न एमाओवादीको एकताको सातौँ राष्ट्रिय महाधिवेशनमा बोगटी पार्टीको महासचिवमा सर्वसम्मत चयन हुनुभयो भने गत वैशाखमा सम्पन्न विराटनगर राष्ट्रिय सम्मेलनपछि उहाँ उपाध्यक्षको भूमिकामा क्रियाशील हुनुहुन्थ्यो ।

विसं २०६४ मा भएको संविधानसभाको निर्वाचनमा नुवाकोट क्षेत्र नं ३ बाट विजयी हुनुभयो । संविधानसभा सदस्य हुँदै उहाँ एकीकृत नेकपा (माओवादी)को तर्फबाट संविधानसभामा प्रमुख सचेतक हुनुभयो । उहाँले २०६८ सालमा झलनाथ खनाल नेतृत्वको सरकारमा सूचना तथा सञ्चार मन्त्रालय सम्हाल्नुभयो । मन्त्री भएका बखत उहाँले राष्ट्रिय समाचार समितिको केन्द्रीय कार्यालयमा रहेको स्वर्ण स्मारकको अनावरण गर्नुभएको थियो । त्यसलगत्तै बनेको डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा ऊर्जा मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको पनि जिम्मेवारी सम्हाल्नुभयो ।

उहाँले पञ्चायतकाल र बहुदलकालमा पटक–पटक जेल जीवन बिताउनुभएको थियो । विद्यालयको औपचारिक अध्ययन धेरै नभए पनि बोगटीले आध्यात्मिक, द्वन्द्वात्मक भौतिकवाद, दर्शन, राजनीति, जीवनी, साहित्य, इतिहासलगायत असङ्ख्य पुस्तकको अध्ययन गर्नुभएको थियो । उहाँ पार्टीभित्र र बाहिर इमान्दार र निष्ठावान् नेताका रुपमा चिनिनुहुन्थ्यो । पार्टी राजनीतिमा उहाँ सधैँ अध्यक्ष पुष्पकमल दाहालको सहयोगीका रुपमा चिनिनुभएको थियो । रासस