मुलुकले इमान्दार राजनीतिज्ञ गुमायो – शीर्ष नेता

काठमाडौँ, ३० भदौ- एकीकृत नेकपा माओवादीका उपाध्यक्ष पोष्टबहादुर बोगटीको निधनले मुलुकले एउटा इमान्दार र असल नेता गुमाएको प्रतिक्रिया विभिन्न पार्टीका नेताहरूले दिएका  छन्  । पाध्यक्ष बोगटीको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलि दिन खुलामञ्चमा पुगेर नेताहरुले मुलुकमा इमान्दारिताको खडेरी परेको र व्यक्तिगत पद र प्रतिष्ठाका लागि मात्रै राजनीतिक दलका नेताहरू लागिरहेको बेला उहाँको अभाव खड्किने धारणा राखेका थिए । राजनीतिमा इमान्दारिता र नैतिकता हराउँदै गएको बेला बोगटीले देखाएको सदाचार र सरलताको अभाव महसुस हुने र मुलुकमा उहाँको व्यक्तित्वको खडेरी पर्ने बताएका छन् ।

संविधान लेखन प्रक्रिया अगाडि बढिरहेको र शान्ति प्रक्रियाको काम पनि बाँकी रहेका बेला बोगटी जस्ता समन्वयकारी नेता आवश्यक रहन्थ्यो भन्दै नेताहरूले एमाओवादी पार्टीले उहाँको योगदान र भूमिकालाई संविधान निर्माण प्रक्रियालाई पूर्णता दिएर संस्थागत गर्नुपर्नेमा जोड दिएका थिए । उपाध्यक्ष बोगटीप्रति श्रद्धाञ्जलि व्यक्त गर्न खुलामञ्च पुग्नुभएका प्रधानमन्त्री सुशील कोइरालाले मुलुकले मिलनसार नेता गुमाएको बताउनुभयो । नेपाली काँग्रेसका सभापति कोइरालाले ‘‘देशका लागि उहाँको ठूलो योगदान रहेको बताएका छन्  ।

त्यस्तै सभामुख सुवासचन्द्र नेम्वाङले अघिल्लो संविधानसभामा माओवादीको तर्फबाट प्रमुख सचेतकको भूमिका हेर्दा नै उहाँमा केही क्षमता र योग्यता रहेको आफूले पाएको बताए ।  नेका उपसभापति रामचन्द्र पौडेलले संविधान लेखनमा समन्वयकारी भूमिकाको जरुरी परेको बेला उहाँको निधनले सो प्रक्रियालाई अप्ठ्यारोमा पार्ने त होइन भन्ने आशङ्का व्यक्त गरे । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकले राजनेता गुमाएको प्रतिक्रिया दिँदै शान्ति र संविधान निर्माण प्रक्रियालाई सहज रुपमा अगाडि बढाउन सक्ने नेताको अभाव हुने विचार व्यक्त गर्नुभयो । उहाँले एमाओवादी पार्टी र बोगटीको परिवारमा पुगेको अपूरणीय क्षतिप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले कम्युनिस्ट आन्दोलनमा नेता बोगटीको ठूलो योगदान रहेको बताउँदै उहाँको निधनले मुलुक र कम्युनिस्ट आन्दोलनमा अपूरणीय क्षति पुगेको बताए । उपप्रधानमन्त्री एवम् एमालेका उपाध्यक्ष वामदेव गौतमले माओवादी सिद्धान्तलाई व्यवहारमै लागू गर्ने सिद्धान्तनिष्ठ नेताहरूमध्ये बोगटी एक शीर्ष नेता रहनुभएको बताएका छन् ।