अन्योलताको भुमरीमा नेवी संघ महाधिवेशन

भदौं २८,काठमाडौं-नेपाली काँगे्रसको भातृ सगंठन नेपाल विद्यार्थी संघको भोली देखि सुरु हुने भनिएको ११ औं महाधिवेशनका लागि जिल्लाबाट प्रतिनिधि काठमाडौं आउन थालेका छन् । तर, तोकिएको मिति आउन एक दिन मात्र बाँकी रहँदासमेत महाधिवेशन हुने नहुने विषयमा उमेदवार नै दोधारमा देखिएका छन् ।

धेरैपटक घोषणा गर्दै स्थगित गरिँदै आएको नेविसंघको महाधिवेशन पछिल्लोपटक २९ देखि ३१ भदौमा काठमाडौंमा गर्नेगरी तोकिएको छ । महाधिवेशनको उद्घाटन बाल्मीकी क्याम्समा, बन्दशत्र किर्तीपुर स्थित त्रिभुवन विश्वविद्यालयमा र नेतृत्व चयन पार्टी केन्द्रिय कार्यालय सानेपामा गरिने नेविसंघले जनाएको  छ ।

तर, माउ पार्टी कांग्रेसमा विवाद र व्यवस्थापनको तयारीसमेत नभएकाले महाधिवेशनबारे विद्यार्थी नेताहरु नै अलमलमा परेको र काठमाडौँ आएका महाधिवेशन प्रतिनिधिहरु आक्रोसित हुन थालेका छन् । नेविसंघको महाधिवेशन सम्पन्न गर्न कांग्रेसले महामन्त्री प्रकाशमान सिंहको नेतृत्वमा निर्देशन समिति गठन गरेको छ । तर, समितिका नेताहरुमा विवाद भएपछि महाधिवेशन अन्योलमा परेको छ ।

निर्देशन समितिमा डा प्रकाशशरण महत, विद्यार्थी विभाग प्रमुख नवीन्द्रराज जोशी, बद्री पाण्डेलगायतका नेता सदस्य छन् । महाधिवेशन प्रचारप्रसार संयोजक मोतीलाल भण्डारीले तयारी कम भएको बताउनुभयो । भण्डारीका अनुसार ‘प्रतिनिधिहरु काठमाडौं आएर कहाँ बस्ने, खाने भनेर सोधिरहेका छन् महाधिवेशन सुरु हुन १ दिन मात्र बाँकी छँदा व्यवस्थापनको अझै टुंगो लाग्न सकेको छैन ।