जैविक मल उत्पादन गर्न अध्ययन सुरु

भदौ २८,काठमाडौँ–अम्लपनले माटोको उर्वरा क्षमता घट्दै गएको भन्दै साल्ट टेडिङ कर्पाेरेसनले अर्ध जैविक मल उत्पादन गर्न अध्ययन सुरु गरेको छ । कर्पाेरेसनको ५२ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा सो जानकारी दिइएको हो । कर्पाेरेसनले दैनिक उपभोगका वस्तु चिनी, नुन, चामल, मैदा, दाल, ग्यासलगायत सहज र सर्वसुलभ रुपमा बिक्री वितरण गर्दै आएको छ । गत वर्ष ती वस्तुको करिब रु चार अर्ब ८५ करोडको कारोबार गरेको कर्पाेरेसनका प्रबन्धक व्रजेशकुमार झाले जानकारी दिए ।

कर्पाेरेसनले सबैभन्दा बढी नुनको बिक्री वितरण गर्ने गर्दछ । बर्सेनि दुई अर्बभन्दा बढीको नुनको बिक्री वितरण हुने गर्दछ । नुनको बिक्रीमा घाटा व्यहोर्नु परेको कर्पाेरेसनले जनाएको छ । मुलुकमा शतप्रतिशत परिवारमा आयोडिनयुक्त नुन पुर्याइरहेको दाबी कर्पाेरेसनको छ । कर्पाेरेसनले दसँै तिहार र छठ जस्ता पर्वका अवसरमा दैनिक उपभोगका वस्तुहरू थप बिक्री कक्ष राखी सरल र सहज मूल्यमा बिक्री वितरणसमेत गर्दै आएको छ । यस वर्ष ती पर्वको अवसरमा घुम्ती भ्यानमा समेत बिक्री वितरण गर्ने कार्यक्रम रहेको कर्पाेरेसनले जनाएको छ ।

कार्यक्रममा वाणिज्य तथा आपूर्ति मन्त्री सुनीलबहादुर थापाले कर्पाेरेसनको आर्थिक पक्षलाई बलियो बनाउन मन्त्रालयबाट पूर्ण सहयोग हुनेछ भने । उनले सामाजिक उत्तरदायित्वलाई नबिर्सन र दैनिक उपभोग्य वस्तुलाई अझ सरल र सहज रुपमा बिक्री वितरणको व्यवस्था मिलाउन कर्पाेरेसनलाई निर्देशन दिए । वाणिज्य तथा आपूर्तिराज्य मन्त्री गिरीबहादुर केसीले विसं २०२० मा स्थापना भएको कर्पाेरेसनलाई अगामी दिनमा टिकाइराख्न व्यवस्थापन पक्ष चुस्त हुनुपर्छ भने ।

कर्पाेरेसनका अध्यक्ष लक्ष्मीदास मानन्धरले नुनको मूल्य समायोजन नभएको लामो समय वितिसकेको भन्दै नुनको मूल्य वृद्धिका लागि अनुमति दिन सरकारसित माग गरे । महाप्रबन्धक उर्मिला श्रेष्ठले चाडपर्वका अवसरमा कर्पाेरेसनले सञ्चालन गर्दै आएको सुपथ मूल्यका पसल उपत्यका बाहिर पनि सञ्चालनमा ल्याउन लागिएको जानकारी दिए । उनले कर्पाेरेसनले व्यवसायमात्र नगरी सामाजिक उत्तरदायित्वलाई उच्च प्राथमिकता दिएको र अर्ध जैविक मल उत्पादन गर्न अध्ययन सुरु भएको बताए ।