कालीगण्डकी नदी किनारमा तर्पण दिनेको भीड

भदौ २६, म्याग्दी-हिमालपारिको जिल्ला मुस्ताङको कागवेनीमा आफ्ना पितृलाई तर्पण दिनेहरूको भीड लागेको छ । सोह्रश्राद्धमा दिवङ्गत आफन्तको सम्झनामा कालीगण्डकी नदी किनारमा श्राद्ध गर्न कागवेनीस्थित कालीगण्डकी नदीमा मुलुकका विभिन्न ठाउँबाट सर्वसाधारणको भीड लाग्न थालेको हो ।

प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथबाट बगेको नदी र दामोदरकुण्ड हुँदै बगेको कृष्णगण्डकीको सङ्गमस्थल कागवेनीमा दैनिक ३०० देखि ५०० जनासम्म तर्पण दिनेको भीड लागेको स्थानीय पत्रकार अगन्धर तिवारीले बताए ।

बेनी–जोमसोम सडकखण्ड हुँदै बस तथा जिप र हवाइमार्ग हुँदै कागवेनी पुगेका धर्मावलम्बीहरूले दिवङ्गत आफन्तजनको आत्माको चिर शान्तिको कामना गर्दै तर्पण दिएपछि मुक्तिनाथ मन्दिरको समेत दर्शन गर्ने गरेका छन् ।