नयाँ तरिकाले छलफल अघि बढाउने तीन दलीय सहमति

भदौ २५,काठमाडौँ-शीर्ष तीन दलका  शीर्ष नेताहरूबीच प्रस्तावित नयाँ संविधानका अन्तरवस्तुमा सहमति कायम हुन बाँकी विषय टुङ्ग्याउन लचकताका साथ गम्भीर ढङ्गबाट नयाँ तरिकाले छलफल अघि बढाउने सहमति भएको छ । सिंहदरबारस्थित संविधानसभा सचिवालयमा आज बिहान शीर्ष नेताहरूबीच भएको छलफलमा संविधान निर्माणका निम्ति अब गम्भीर ढङ्गबाट विषयवस्तुमा प्रवेश गरेर नटुङ्ग्याइ भएन भन्नेमा तीनै पक्षबाट एकैखाले भनाइ प्रस्तुत भएको थियो । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले संविधानका अन्तरवस्तुमा छलफल जारी रहेको बताए ।

छलफलमा संवैधानिक– राजनीतिक संवाद तथा सहमति समितिले संविधानसभामा प्रस्तुत गर्न तयार गरेको प्रतिवेदनलाई कहिले टेबल गर्ने र त्यसमाथिको छलफललाई कसरी अघि बढाउने भन्ने प्रक्रियागत विषयमा समेत छलफल भएको बैठकमा सहभागी एनेकपा माओवादीका नेता खिमलाल देवकोटाले जानकारी दिए । संविधान लेखनको क्रममा असहमतिका विषयवस्तुलाई सहमतिमा परिणत गर्न अहिले गरिँदै आएको छलफलको प्रक्रियालाई बदल्नुपर्छ, निश्चित विषयवस्तुमा प्रवेश गरेर गम्भीर रुपले छलफल गरेर टुङ्ग्याउँदै जानुपर्छ भन्ने ढङ्गबाट सबै पक्षबाट विचार आएको रावलले बताए ।