कुखुराको मासु सय रुपैयाँले घट्यो

भदौ १९,रौतहट-कुखुरा व्यवसायीको आपसी प्रतिस्पर्धा र उत्पादन बढेपछि रौतहट जिल्लामा ब्रोइलर कुखुराको मासु घटेको छ । यसअघि प्रतिकिलोग्राम रु ३०० रहेको ब्रोइलर कुखुराको मासु केही दिनदेखि रु २०० का दरले स्थानीय बजारमा बिक्री भइरहेको छ ।

चन्द्रनिगाहपुर, गरुडा, गौर, कटहरिया क्षेत्रमा उत्पादनको मात्रा बढेको र आपसी प्रतिस्पर्धासमेतले गर्दा बजारमा ब्रोइलरको माग घटेपछि बाध्य भएर मूल्य घटाउनुपरेको मासु व्यवसायी सङ्घ बताएका छन् । मूल्य घटेपछि घाटा खानुपर्ने अवस्था रहेको कुखुरा उत्पादक व्यवसायीले बताएका छन् ।

यसअघि चितवन तथा धादिङबाट कुखुरा आपूर्ति हुँदै आएकामा अहिले जिल्लामै मासुजन्य पदार्थ पर्याप्तमात्रामा उत्पादन हुन थालेको छ । पछिल्लोपटक रौतहटका विभिन्न स्थानमा ठूलो लगानीमा एक दर्जन पोल्ट्रिफार्मको स्थापना गरिएको छ ।