भ्रष्टाचारीले उन्मुक्ति पाउँदैन : प्रम कोइराला

भदौ १८, काठमाडौ-प्रधानमन्त्री सुशील कोइरालाले भ्रष्टाचार गर्ने जो कोहीलाई जनि कानुनले नछाड्ने बताएका छन् । अझै विश्वविद्यालयजस्ता प्राज्ञिक संस्थाहरुमा  आर्थिक अनियमितता र भ्रष्टाचार हुनु निकै पीडादायी हुने कोइरालाले दुखेसो पोखे । भ्रष्टाचार जस्तो तल्लो स्तरको कर्मको मामलामा कसैले कसैलाई बचाउन नसक्ने र दोषी उपर कारबाही भएरै छाड्ने कोइरालाको भनाइ छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष र सदस्यसचिवलगायतसँगको भेटमा प्रधानमन्त्री कोइरालाले प्राज्ञिक क्षेत्रमा आएका अनियमितताका विषयले सबैलाई निराश बनाउने धारणा राखेका थिए । उनले असल काम गर्नेलाई प्रोत्साहित गर्न आवश्यक भएको र गल्ती गर्ने व्यक्ति सजायको भागिदार बन्नुपर्ने बताए । कोइरालाले प्राध्यापकहरुलाई पार्टीको निर्देशनभन्दा व्यावसायिक भएर देश, जनता र संस्थाको भलो सोच्न पनि आग्रह गरेका छन् ।