पीडितहरुका लागि १ करोड ३० लाख राहात संकलन

भदौ १६,काठमाडौँ -सिन्धुपाल्चोकको सुनकोसी पहिरो पीडितहरुका लागि बिभिन्न संघसंस्थाहरुबाट अहिलेसम्म १ करोड ३० लाख रुपियाँ सहयोग रकम जिल्ला दैबी प्रकोप राहतकोषको खातामा संकलन भएको छ । देशभरका २ सय ७६ ओटा संघसस्था, समूह र दातृ निकायहरुले जुरे पहिरो पीडितहरुको लागि पुर्नवासमा सहयोग पुगोस् भन्ने उदेश्यले रकम संकलन भएको जिल्ला दैबी प्रकोप उद्धार समितिले जनाएको छ । गएको साउन १७ गते विहान माङखा गाविस जुरेमा १ सय ५६ जनाको ज्यान जाने गरी खसेको भिषण पहिरोका कारण अरबौको भौतिक संरचना ध्वस्त हुनाका साथै ६ सय ३९ घरका झण्डै ५ हजार जना बिस्थापीत भएका छन् ।

पहिरोमा घर भत्केर मानिसको समेत मृत्यु भएका क बर्गका २ सय १६, घर भत्केको डुवान परेको तर मान्छेको मृत्यु नभएका ख वर्गका छ सय १ र पहिरोको उच्च जोखिममा परेका ३ सय ३१ घरपरिवारका पीडित रहेको स्थानीय प्रशासनले जनाएको छ । घटनापछि नाम थर नलेखेका तर ११ जना अझै बेपत्ताको सूचिमा छन् । सुनकोसी तालमा १८ घर डुवानमै छन् । १० ओटा सवारीसाधन पूरै क्षति भएका छन् । १ सय ४४ जनालाई स्थानीय प्रशासनले मृतसरह घोषणा गरेर मृतकका आफन्तलाइ जनहि ४० हजारका दरले किरिया खर्च र घर भत्केर पूर्ण क्षति पुगेकालाई थप ५ हजार रुपियाँ क्षतिपूर्ति प्रदान गरिएको छ ।