सबैलाई समेट्ने संयन्त्र आवश्यक– अध्यक्ष बिजुक्छे

भदौ १५, काठमाडौँ – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गरेर एकीकृत नेकपा माओवादीले सरकार कब्जा गर्न खोजेको आरोप लगाएका छन् । अध्यक्ष बिजुक्छेले अहिलेको समयमा संयन्त्रको आवश्यकता नभए पनि संयन्त्र गठनको माग गर्नु एमाओवादीको सरकार कब्जाको खेल भएको बताएका छन् । उनले उच्चस्तरीय राजनीतिक संयन्त्र बन्यो भने त्यसले सरकारलाई गाइड गर्छ, सरकारले स्वतन्त्र भएर काम गर्न नसक्ने भन्दै संयन्त्रले सरकारसँग विभिन्न माग राखेर हैरानी बनाउने पनि आरोप लगाए ।

संयन्त्रको आवश्यकता एमाओवादीलाई हो कि देशलाई हो भन्ने स्पष्ट हुनुपर्ने बताउँदै उनले देशका लागि संयन्त्र गठन गर्ने हो भने सर्वदलीय बैठक राखेर निर्णय गर्नुपर्ने उनको भनाइ छ ।  संयन्त्र देशकै लागि हो भने तीन दल  काँग्रेस, एमाले र एमाओवादी बीचमात्रै नभइ सर्वदलीय बैठक राखेर सबैलाई समेटेर लैजाने गरी संयन्त्र गठनका लागि छलफल हुनु आवश्यक रहेको बताए  ।