सवारी दुर्घटनामा एकको मृत्यु, पाँच गम्भीर घाइते

भदौ १५, काठमाडौँ-जिपबाट खस्दा अछाममा एकजनाको मृत्यु भएको  छ । अछामको साँफेबगर नगरपालिका–१० का ५८ वर्षीय लोकबहादुर विकको मृत्यु भएको हो ।  साँफेबगरबाट मङ्गलसेन आउँदै गर्दा से१ज ४७२ नम्बरको जिपबाट गएराति साँफे नगरपालिका–१० को अनिकाले पानीमुल नजिक खसेका उनको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय साँफेबगरले जनाएको छ ।

जिप चालक मानबहादुर चौधरीलाई प्रहरीले अनुसन्धानका लागि हिरासतमा राखेको छ । यसैबिच मेची राजमार्गअन्तर्गत इलामको साँखेजुङ–७ मा आज बिहान साडे ८ बजे सफारी र ट्रिपर एकआपसमा जुध्दा पाँचजना यात्रु सख्त घाइते भएका छन् ।

 पाँचथरको फिदिमबाट झापातर्फ गइरहेको मे१ज १५६५ नम्बरको सफारी जिप र विपरीत दिशाबाट गइरहेको बा३प २५१ टिपरसँग एकआपसमा जुध्दा पाँचजना यात्रु गम्भीर घाइते भएका हुन् ।     घाइतेहरूको जिल्ला अस्पताल इलाममा उपचार भइरहेको प्रहरीले जनाएको छ । सफारी जिप र टिपर प्रहरीको नियन्त्रणमा लिएको छ