उत्सव हो तिम्रो मेरो!

भाद्र १५,काठमाडौ –यो हप्ता पनि दुई नेपाली फिल्म रिलिज  भएका छन्। साउन २३ मा रिलिज भएका फिल्म ‘कोहिनूर’ धेरै हलमा यथावत रहँदा दर्शकसामु तीन फिल्म हेर्ने अवसर रहनेछ। यो साता  रिलिज  भएका फिल्म ‘उत्सव’ र ‘यो कथा हो तिम्रो मेरो’ हुन्।  प्रेम र मित्रताको सेरोफेरामा बनेको ‘उत्सव’ निर्देशकका रुपमा कुमार भट्टराईको डेब्यु फिल्म हो। केही फिल्ममा सहायक निर्देशन तथा पटकथा लेखन गरेका कुमारले ‘उत्सव’मा सौगात मल्ल, गौरव पहारी, प्रकृति श्रेष्ठ, मेनुका प्रधान, सन्दीप क्षेत्री आदिलाई निर्देशन गरेका छन् । 

शेखर कोइराला आठ वर्षपछि निर्माणमा फर्किएको फिल्ममा शेखरकै छोरा संजोग कोइरालाले पनि अभिनेताका रुपमा डेब्यु गरेका छन्। पुरुषोत्तम प्रधानको छायांकन रहेको फिल्ममा सुरेश राईले संगीत दिएका छन्।  पटकथा लेखकबाटै निर्देशक बनेका हुन् ओम प्रतीक पनि। ‘तिम्रो माया उनान्सय मेरो माया सय’बाट फिल्म निर्देशनमा ओर्लिएका ओमले ‘फर्कि आऊ’ पछि निर्देशन गरेको फिल्म हो ‘यो कथा हो तिम्रो मेरो’।

पारिवारिक प्रेमकथामा आधारित फिल्ममा सुमन सिंह, रिस्ता बस्नेत, रवि कार्की, गणेश उप्रेती र ओम स्वयंको अभिनय रहेको छ। ‘होस्टल’बाट अभिनय यात्रा थालेकी रिस्ताको यो दोस्रो फिल्म हो भने रवि कार्कीले यही फिल्मबाट अभिनय थालेका हुन्।