मिथिलामा आज चौठचन्द्र पर्व मनाइदै

भदौ १३, धनुषा – प्रत्येक वर्ष भदौ महिनाको शूक्लपक्ष चौथी तिथिका दिन मनाइने मिथिलाको लोकपर्व चौठचन्द्र पर्व आज मनाइदैछ । चौथीको दिन चन्द्रदेवलाई खाली हात दर्शन गर्न नहुने मान्यताअनुसार चौठचन्द्र पर्व मान्ने परिवारजनले हातमा केरा, स्याउ, अम्बा, अनार, काँक्रा, गाजरजस्ता फलफूल लिएर भगवान चन्द्रदेवको दर्शन गर्ने परम्परा रहेको छ । चौथी तिथिकै दिन मनाइने गणेश चतुर्थीका लागि जनकपुरको गणेश युवा कमिटी, पेठिया बजारमा रहेको गणेश मन्दिरलगायत विभिन्न चोकमा गणेश पुजनोत्सवका साथ मनाइदैछ । यसअघि हिजो मिथिलानी महिलाले पवित्र सरोवरमा स्नान गरी नहा–खा गरेका थिए  । उनीहरूले जनकपुरको पवित्र सरोवर गङ्गासागर, धनुष क्षेत्र, माहाराजसागर, अङ्गराजसागरलगायत अन्य सरोवर तथा गाउँघरमा रहेका नदी तलाउमा स्नान गरेर नहा–खा गरेका हुन् ।