एमाओवादीका तीनै नेताले कान समाए, १ वर्षमा विशेष महाधिवेशन

 भदौ १ , काठमाडौं – एकीकृत नेकपा माओवादीका तीन शीर्ष नेताले आफूहरुकै कारण पार्टी अफ्ठेरोमा परेको स्वीकार गर्दै अव एक ढिक्का भएर अघि बढ्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । नेताहरुबीच पार्टीभित्र देखिएको विवाद समाधान गर्न एक वर्षभित्र विशेष महाधिवेशन गर्ने सहमित पनि भएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार बसेको पोलिटब्युरोको अनौपचारिक बैठकले नयाँ परिस्थितिमा आवश्यकताअनुसार विशेष महाधिवेशनमा जाने निर्णय भएको स्थायी समिति सदस्य अग्नि सापकोटाले जानकारी दिए  आगामी असोज १ गते पार्टीको केन्द्रीय समितिको बैठक बोलाइएको र सोही बैठकले महाधिवेशनको निर्णय गर्ने उनले बताए ।

बैठकले पदाधिकारीसहित संरचनालाई विघटन गरी महाधिवेशन आयोजक समिति बनाउने र अहिलेको केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा बदल्ने छ । प्रवक्ता सापकोटाले नेकपा–माओवादी, नेकपा९माओवादी०सहितका माओवादी पार्टीसँग पनि एकता गर्ने उद्देश्यसहित महाधिवेशन आयोजक समिति गठन गरिने जानकारी पनि दिएका छन् ।

बुधबारको बैठकमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेता डा बाबुराम भट्टराईले आफूहरुले गलत गरिरहेको स्वीकार गर्दै मिलेर जानुको विकल्प नभएको बताएका थिए । नेताहरुले हालसम्म भएको छलफलबारे जानकारी पनि गराएका थिए ।

विस २०६९ माघमा हेटौँडामा महाधिवेशन गरेको एमाओवादीले विवाद बढ्दै गएपछि गत वैशाखमा विराटनगरमा राष्ट्रिय सम्मेलनको आयोजना गरेको थियो । तर सम्मेलनपछि एमाओवादी भित्रको विवाद झनै झाङ्गिदै गएका कारण एक वर्ष भित्र विशेष महाधिवेशन गर्ने निष्कर्षमा एमाओवादीका नेताहरु पुगेका हुन् ।