विवाद समाधान गर्न विशेष महाधिवेशन गर्दै एमाओवादी

भदौ ११, काठमाडौँ  – एकीकृत नेकपा माओवादीले पार्टीभित्र देखिएको विवाद समाधान गर्न एक वर्षभित्र विशेष महाधिवेशन गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको पोलिटब्युरोको अनौपचारिक बैठकले नयाँ परिस्थितिमा आवश्यकताअनुसार विशेष महाधिवेशनमा जाने निर्णय भएको प्रवक्ता दिनानाथ शर्माले जानकारी दिए । आगामी असोज १ गते पार्टीको केन्द्रीय समितिको बैठक बोलाइएको र  सोही बैठकले महाधिवेशनको निर्णय गर्ने शर्माले बताए ।

बैठकले पदाधिकारीसहित संरचनालाई विघटन गरी महाधिवेशन आयोजक समिति बनाउने र अहिलेको केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा बदल्ने छ । शमाले नेकपा–माओवादी, नेकपा माओवादी सहितका माओवादी पार्टीसँग पनि एकता गर्ने उद्देश्यसहित महाधिवेशन आयोजक समिति गठन गरिने उल्लेख गर्नु गरे ।

आजको बैठकमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेता डा बाबुराम भट्टराईले मिलेर जानुको विकल्प नभएको बताउँदै हालसम्म भएको छलफलबारे जानकारी गराएका थिए ।