उत्साह र रौनकताका बिच तिज पर्व मनाइदै

भदौ ११, काठमाडौँ  – नेपाली हिन्दु नारीहरुको महान पर्व तिजको पहिलो दिन आज दर खाने कार्यक्रमले गाउँ समाज र वस्ती छपक्कै छोपीएको  छ ।  के गाउँ, के शहर जताततै माइत, दिदी बैनी र आफन्तको घरमा आउ जाउ गर्नेको चहलपहलले जताततै रौनकता भरिएको  छ । हिन्दू नेपाली महिलाले मनाउने धार्मिक एवम् सांस्कृतिक महत्व बोकेको पर्व हरितालिका तीजका अवसरमा गाउँ, सहर, गल्ली चोक, घरघरमा यस्तै गीत गुञ्जिरहेका छन । तीजका यस्ता गीतले महिलामा रौनकता बढाउन थप सहयोग पुर्याइरहेको छ ।यस पर्वमा महिलाहरू अघिल्लो दिन दर खाएर भोलिपल्ट अर्थात हरितालिकाको दिन निरहार व्रत बसी भगवान शिवको पूर्जा गर्दछन् ।

विवाहित महिलाले आफ्नो पतिको दीर्घायुको कामना गर्दै र अविवाहित महिलाले भगवान शिवजस्तो  असल, गुणी, राम्रो पति पाऊँ भन्दै व्रत बस्ने प्रचलन रही आएको छ । ‘हिन्दू धर्म ग्रन्थमा भगवान शिवलाई पति पाउँ भनेर देवी पार्वतीले गरेको व्रतको प्रभावले शिव नै स्वामी पाएको भन्ने धार्मिक जनविश्वास रहँदै आएको छ”–धार्मिक तथा संस्कृतिविद् डा गोविन्द टन्डनको भन्नुभयो । तीज पर्वको दिन देशभरका शिवालयका ठूलो मेला लाग्ने गर्दछ । महिलाहरूले सासु÷ससुरा र श्रीमानको खटनले मन लागेको बेलामा माइत जान नपाएका, माइतीबाट बुबा, दाजुभाइ लिन नआएका पीडा साथी सङ्गीसँग यसरी गीतमार्फत गुनगुनाउने गर्दछन,  ।

महिलाले वर्षभरिको दुःख पीडा एक दिन तीजको पर्वका दिन आफ्ना साथीहरूलाई गीतमार्फत सुनाएर मन हलुका पार्ने दिनका रूपमा मनाउँदै आइरहेका छन् । खाली खुट्टा दिनरात काममा खटिदा पनि आफू दुई गास खान नपाएको महिलाले यसरी आफ्नो पीडा पोख्दछन् । तीज पर्व महिलाहरूले वर्षभरि भोग्नुपरेका दुःख, पीडा र व्यथा बाहिर ल्याउने पर्व हो, लोक संस्कृति झल्काउने खालका गीत गाउँथे तर अहिले यस्ता गीतहरू लोप हुने अवस्थामा पुगेको बताउनुहुन्छ लोकगायिका तथा सभासद् सिन्धु जलेसा । महिलाले सासु–ससुरा र पतिको अन्यायका विरुद्ध आवाज उठाउने संस्कृतिमा रूपमा गाउने भाका अहिले फेसनका रूपमा भित्रिन थालेको छ ।

भगवान शिवलाई पति पाऊँ भनेर देवी पार्वतीले गरेको व्रतको प्रभावले शिव नै स्वामी पाएको भन्ने धार्मिक विश्वास अनुसार तीज पर्वको सुरुवात भएको पाइन्छ । नेपाली महिलाहरूले पनि निरहार दिनभरि व्रत बसेर राति पतिलाई टीका लगाई खुट्टाको पानी खाने प्रचलन छ । तर अहिले संस्कृतिमा खुट्टाको पानी खानु स्वास्थ्यका लागि राम्रो होइन भनेर धरै महिलाहरूले त्यसो गर्न छाडिसकेका छन् । निरहार व्रत बस्ने चलन पनि हट्दै गएको छ ।  तीज पर्वमा माइतीलाई सम्झेर गीत गाउने संस्कृतिको सुरुवात नेपालको लुम्बिनी र गण्डकी अञ्चलबाट आएको पाइन्छ । अन्यायका विरुद्व आवाज उठाउन, आफ्नो जीवनमा भोग्नुपरेका दुःख, पीडालाई विस्तारै अन्य क्षेत्रका महिलाहरूले पनि आ–आफ्नो लोकभाकामार्फत व्यक्त गर्न थालेका छन् ।