५० घण्टा पछि यातायात सुचारु

भदौ ११, सर्लाही- सर्लाहीको नयाँरोड–बरहथवा सडक खण्डमा ५० घण्टा देखि अबरुद्ध भएको यातायात सेवा सूचारु भएको  छ । आज बिहानबाट सार्वजनिक यातायातका साधन सन्चालनमा आएका छन् । सडक मर्मतको माग गर्दै गएको सोमवार देखि यातायात बस व्यवसायी संघ र जीप टेम्पु व्यवसायी संघले सो सडक खण्डमा यातायात सन्चालन गरेका थिएनन् ।

प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद पोखरेलले सडक मर्मत गर्ने आश्वासन दिएपछि आज बिहानबाट यातायात व्यवसायीहरुले यातायात सन्चालन गरेका हुन् । बिहानैबाट ट्रिपर मार्फत सडकको खाल्डाखुल्डीमा गिट्टी बालुवा हालेर मर्मत गर्ने काम सूरु भएपछि यातायात चलाउन सुरु गरिएको यातायात बस व्यवसायी संघले जनाएको  छ ।

अत्यन्त जिर्ण अवस्थामा रहेको सडकमा यातायात सन्चालन गर्दा आफूहरुले निकै क्षति बेहोर्नु परेको भन्दै यातायात व्यवसायीहरु आन्दोलित भएका थिए । नयाँरोड देखि बरहथवा सम्मको १३ किलोमिटर दुरीमा ठुलाठुला खाल्डाखुल्डी हुँदा यातायात सन्चालन गर्न निकै समस्या भैरहेको चालकहरुको गुनासो छ ।

बिहानैबाट सार्वजनिक यातायातका साधन सन्चालनमा आएपछि जिल्लाको प्रमुख व्यापारिक केन्द्र बरहथवामा मानिसहरुको चहलपहल बढेको स्थानीय युवा सतेन्द्रकुमार महतोले जनाएका छन् ।