उच्चस्तरीय संयन्त्रले हानी गर्दैन : मन्त्री निधि

भदौ ११, काठमाडौँ  – भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले संविधानसभालाई सघाउन प्रमुख दलहरूबीच उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउँदा केही फरक नपर्ने बताएका छन् । नेपाली काँग्रेस, नेकपा एमाले लगायत सत्तारुढ दलले प्रमुख प्रतिपक्ष एकीकृत नेकपा माओवादीको माग बमोजिम उच्चस्तरीय राजनीतिक संयन्त्र कुनै हालतमा गठन गर्न नसकिने बताइरहेका बेला काँग्रेसका केन्द्रीयसमेत रहनुभएका मन्त्री निधिले सो कुरा बताएका हुन् ।

फ्रेडरिक एवर्ट स्टिफटुङ (एफइयस) नेपालको सहयोगमा नेपाल प्रेस युनियनले आज यहाँ आयोजना गरेको राष्ट्र निर्माणमा मिडियाको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रममा मन्त्री निधिले प्रमुख तीन दलबीच भएको चारबुँदे सहमतिबमोजिम संयन्त्र गठन गर्न दल इमान्दार हुनुपर्ने बताए ।

संंयन्त्र गठन गर्दा सुपर क्याविनेट बन्छ कि ? भन्ने दलको आशङ्का मात्र भएको बताउँदै उहाँले शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्न र समयमै संविधान निर्माणमा सघाउन सहमतिका आधारमा राजनीतिक संयन्त्र गठन गर्नुपर्नेमा जोड दिए ।

नेपालमा प्रजातन्त्रका लागि भएका हरेक आन्दोलनमा सञ्चार माध्यमले महन्वपूर्ण भूमिका निभाएको प्रसङ्ग उल्लेख गर्दै मन्त्री निधिले अहिले संविधान निर्माणका लागि पनि त्यस्तै भूमिका निर्वाह गर्ने बेला आएको बताए ।