सत्तासाझेदारद्धारा सरकार र संविधानका विषयमा छलफल

भदौ ९, काठमाडौँ – सरकार सञ्चालनमा देखिएका कठिनाइ हटाउँदै संविधानका विवादित विषयमा समान धारणा बनाएर सहमति जुटाउने विषयमा सत्तारुढ चार दलले छलफल गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा नेपाली काँग्रेस, नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा (माले)का शीर्ष नेताहरूको सहभागिता थियो ।

बैठकमा सरकार सञ्चालनमा देखिएका कठिनाइलाई सहज बनाउँदै लान यस प्रकारको बैठकको पहिले नै आवश्यकता महसुस गरिएको भए पनि अब छलफल सुरु भएकामा त्यसलाई सकारात्मक रूपमा लिइएको थियो ।  साथै संविधानका विवादित विषयमा सत्तारुढ दलहरूबीच समान धारणा बनाएर अघि बढ्दा सहमति जुटाउन सहज हुने तथा त्यसका लागि अन्य दलहरूसँग पनि संवाद गर्ने सहमति भएको एमाले नेता भिम राववले जानकारी दिए ।

एमाले उपाध्यक्ष विद्या भण्डारीले सत्तारुढ दलहरूबीच संविधान निर्माणको सन्दर्भमा संवादले तीव्रता पाएकाले संविधान निर्माणलाई नै प्राथमिकता दिएर छलफल भएको बताइन् । उनले सङ्घीय र शासकीय स्वरूप, न्याय प्रणालीलगायतका विषयमा सत्ताघटक दलहरूबीच सकेसम्म समान धारणा बनाउने कुरा भएको जानकारी दिइन् । नेकपा (माले)का महासचिव सिपी मैनालीले सरकार सञ्चालनमा सहजता ल्याउन सत्तारुढ दलहरूबीच यस प्रकारको बैठकको खाँचो पहिले नै महसुस गरिएको हो तर ढिलो भए पनि संवाद सुरु भएको बताए ।