भट्टराईको चितवनमा पनि समानान्तर समिति

भदौ ८, काठमाडौँ  – एमाओवादी संस्थापन पक्षले एकलौटी रुपमा पार्टीमा अधिपत्य जमाएको भन्दै रुष्ट बनेको बाबुराम भट्टराई समुहले चितवनमा पनि   समानान्तर समिति गठन गरेको छ । केहीदिन अघि बसेको जिल्ला समितिको बैठक बहिस्कार गरेका भट्टराई पक्षीय नेताहरुले पूर्व सेक्रेटरी रमेश रेग्मी अमरको अध्यक्षतामा समानान्तर समिति बनाएका हुन् ।

भरतपुर बसपार्क क्षेत्रमा भएको भेलाले १० सदस्य पछि थप गर्ने गरी ५१ सदस्यीय समिति गठन गरेको हो । आफु भन्दा कनिष्टलाई अध्यक्ष बनाइएको, पदाधिकारीको जिम्मेवारी बाँडफाँडपछि एकलौटी ढंगले भुगोलका आधारमा जिम्मेवारी बाँडफाँड गरिएको लगायतका कारणले छुट्टै समिति गठन गर्नुपरेको भट्टराई पक्षीय नेताहरुले बताएका छन् ।

पार्टीका बरिष्ठ नेताहरुलाई मनोमानी कारबाही गरेको भन्दै पछिल्लो समय रुष्ट बनेका भट्राई समुहले करिब दर्जन जिल्लामा समानान्तर कमीटि गठन गरीसकेको छ । प्रचण्ड पक्षीय नेता तथा कार्यकर्ता गुटगत मानसिकताबाट माथि उठ्न नसकेकाले समानान्तर समिति गठन गरिएको रेग्मीले बताए ।