अख्तियारको नजर सिटिइभिटी र उच्च माविमा

भदौ ८,  भक्तपुर –  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) र उच्च माध्यामिक शिक्षा परिषद्मा छापा मारी पाँच वर्षदेखिको फाइल कब्जामा लिएको छ ।  अख्तियारका प्रहरी नायब उपरीक्षक रविराज खड्काको नेतृत्वमा आएको ३० जनाको टोलीले आज छापा मारेको हो ।

अख्तियारको टोलीले उच्च माध्यामिक शिक्षा परिषद्बाट सम्बन्धन महाशाखा, परीक्षा नियन्त्रण कार्यालय, प्रशासन, लेखालगायतका विभिन्न महाशाखामा छापा मारेर पाँच वर्षदेखिको फाइल कब्जामा लिएको खड्काले बताए । त्यसैगरी टोलीले सिटिइभिटीको सम्बन्धन महाशाखा, परीक्षा नियन्त्रण कार्यालय, प्राविधिक महाशाखा, स्तर निर्धारण महाशाखालगायतका विभिन्न ११ वटा शाखाको फाइल कब्जामा लिएको छ ।

  सिटिइभिटी र उच्च माध्यामिक शिक्षा परिषद्मा सम्बन्धन दिँदा, स्तर निर्धारण गर्दा आर्थिक चलखेल हुने गरेको, खरिद र निर्माण गर्दा व्यापक अनियमितता हुने गरेको, परीक्षामा समेत चलखेल हुने गरेको पटकपटक उजुरी आएपछि दुवै कार्यालयमा छापा मारेर फाइल कब्जामा लिएको खड्काले बताए ।

तत्काललाई विगत पाँच वर्षदेखिको फाइल कब्जामा लिएको र आवश्यकता पर्दा त्योभन्दा अगाडिका फाइलसमेत नियन्त्रणमा लिने उहाँले बताउनुभयो । नियन्त्रणमा लिएका फाइलको छानबिन गरिने र दोषी पाइए कारबाही अगाडि बढाउने भएको छ ।