चन्दा सहायता असुल गर्न अख्तियारको निर्देशन

भदौ ७,काठमाडौँ  – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियम विपरीत दल र दलका भातृ सङ्गठनलाई चन्दा सहायता दिएका गोरखाका सात गाविसका सचिवहरुबाट सो सहायता बराबरको रकम असुल गर्न निर्देशन दिएको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई अख्तियारले दिएको निर्देशनमा तत्कालै सहायता रकम असुल गर्न भनिएको छ ।

कार्यविधिमा राजनीतिक दललाई आर्थिक सहायता दिन नपाइने उल्लेख रहेकाले अख्तियारले सो निर्देशन दिएको स्थानीय विकास अधिकारी महेश बरालले जानकारी दिए ।

घैरुङ गाविसका पूर्णबहादुर गहतराजबाट  ९५ हजार ५००, बक्राङ गाविसका सुवन शर्माबाट रु ४९ हजार, मनकामना गाविसका नारायण सापकोटाबाट रु ९३ हजार ५००, फिनामका कुसल बराल, नाम्जुङका रामप्रसाद पौडेलबाट रु २३ हजार ५००, गाँखुका अचला आचार्यबाट रु ३० हजार र ताङ्लीचोकका सूर्य बरालबाट रु ४२ हजार अशुल उपर गर्न अख्तियारले निर्देशन दिएको हो ।

केही समयअघि गोरखा आएको अख्तियारको टोलीले जिल्ला विकास समिति, गोरखा नगरपालिका, जिल्लास्थित सडक कार्यालयलगायत नमूनाका रुपमा २० गाविसमा गएर फाइल अध्ययन गरेको थियो ।