निर्धारित समयमानै संविधान जारी हुन्छ– गोकर्ण विष्ट

काठमाडौँ, ७ भदौ – नेकपा एमालेका सचिव गोकर्ण विष्टले आगामी माघ ८ गतेभित्रै नयाँ संविधान जारी हुने बताएका छन् । नेपाल उत्पीडित जातीय मुक्ति समाजको पाँचौ जिल्ला अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले माघभित्रै संविधान जारी गर्न एमालेले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

जातीय छुवाछूतको व्यावहारिक रुपमा अन्त्य नभएकाले एमालेले यसका लागि अझै सङ्घर्ष गर्ने विष्टको भनाई  छ  । कार्यक्रममा एमालेका वैकल्पिक केन्द्रीय सदस्य सोम मिश्रले जातीय छुवाछूत र विभेदको अन्त्यका लागि सबै पक्ष लाग्नुपर्ने औँल्याए ।

सभासद् जितु गौतमले कानुन र संविधानमा मात्र छुवाछूत अन्त्य गर्दैमा त्यसको अन्त्य नहुने बताउँदै व्यवहारबाटै यसको अन्त्य गर्न एमालेले भूमिका निर्वाह गर्ने बताए  । समाजका अध्यक्ष दीपक बिसुङ्खेको सभापतित्वमा सम्पन्न अधिवेशनले नयाँ कार्यसमितिसमेत चयन गर्ने छ ।