एमाओवादीले विवाद समाधान गर्न वैचारिक प्रशिक्षण दिने

भदौ ७, काठमाडौँ – एकीकृत नेकपा माओवादीले पार्टीभित्रको विवाद समाधानका लागि हदैसम्मको लचकता अपनाउने र सबै पक्षलाई मिलाएर लैजाने निष्कर्ष निकालेको छ । अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा आज साँझ बसेको स्थायी समितिको बैठकले पार्टीभित्र पछिल्लो दिनमा देखिएको विवाद समाधान गरी संविधान निर्माण र शान्ति प्रक्रियाका क्रियाशील भएर लाग्ने ठहर गरेको हो ।

पार्टीभित्र देखिएको विवाद समाधानका लागि गठन गरिएको कार्यदललाई विस्तार गर्ने निर्णयसमेत आजको बैठकले गरेको कोषाध्यक्ष हरिबोल गजुरेलले जानकारी दिए । सचिव वर्षमान पुनको संयोजकत्वमा गठित कार्यदलमा देवेन्द्र पौडेल र विश्वभक्त दुलाल सदस्य रहेका छन् । सो कार्यदललाई समानान्तर जिल्ला समिति गठन भएका जिल्लाको विवाद समाधान गर्ने जिम्मा दिएको छ ।

सो समितिमा दुई सदस्य थप गर्ने निर्णय गरिएको छ ।  यस्तै वैचारिक बहस समितिको बैठकले गरेको निर्णयबमोजिम तत्कालका लागि जनवर्गीय सङ्गठनको महाधिवेशन स्थगन गर्ने निर्णयलाई स्थायी समितिको बैठकले स्वीकृत गरेको छ ।   विवाद भएका जिल्ला समितिमा कार्यदलका साथै शीर्ष नेताको उपस्थितिमा वैचारिक प्रशिक्षण दिने र छुट्टै जिल्ला सम्मेलन आयोजक समिति गठन गर्ने सहमतिसमेत बैठकले गरेको छ ।