संविधान निर्माणका लागि सहमतिमा जोड

काठमाडौँ, ७ भदौ –  विभिन्न राजनीतिक दलका नेताले नयाँ संविधान निर्माणका लागि सहमतिमा सबैले जोड दिनुपर्ने बताएका छन् । युवा सङ्घ नेपाल अन्तरजिल्ला कमिटी मोरङद्धारा आयोजीत कार्यक्रममा ‘संविधान निर्माणमा समग्र चुनौतीका विषयहरु विषयक’ अन्तक्र्रियाका बक्ताहरुले संविधान निर्माणका लागि पहिलो संविधानसभाभन्दा अहिले उपयुक्त वातावरण भएकाले सहमतिका साथ संविधान निर्माण गर्नुपर्ने सुझाव दिएका हुन् ।

कार्यक्रममा नेकपा एमालेका नेता शङ्कर पोखरेलले सहमतिलाई केन्द्रमा राखेर संविधान निर्माण गर्नुपर्ने भन्दै सङ्घीयता, शासकीय स्वरुप, न्यायपालिकालगायतका विषयमा तात्विक विवाद रहेको भन्दै जतिसक्दो चाँडो सहमतिमै विषयहरु टुङ्ग्याउनु पर्ने बताए । उनले सङ्घीयतामा साझा पहिचानसहितको सात प्रदेशमा जानुपर्ने धारणासमेत राखेका थिए । नेपाली काँग्रेसका सभासद् भीष्मराज आङ्दाम्बेले प्रतिपक्षी एमाओवादी, मधेसी र साना दलहरु सं

विधान निर्माण गर्न सम्वेदनशील भएको बेला सत्तारुढ दलहरु नेपाली काँग्रेस र नेकपा एमाले नै असंयममित भएको आरोप लगाउँदै सहमतिका नाममा संविधान निर्माणको प्रक्रिया नबिथोल्न आग्रह गरे । उनले आगामी तीन साताभित्र संविधानको पहिलो मस्यौदा बनाउनुपर्ने भएकाले यो बेलामा सबै सम्वेदनशील भएर छलफलमा जुट्नुपर्ने सुझाव दिए ।

एकीकृत नेकपा माओवादीका नेता खिमलाल देवकोटाले संविधानसभालाई विगत जस्तै संसद् बनाए फेरि पनि संविधान नबन्ने दाबी गर्दै संविधान निर्माणमा दलीय अडान नलिई दुई ठूला दल नेकपा (एमाले) र नेपाली काँग्रेस लचिलो भएर प्रस्तुत हुनुपर्ने बताए । सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले झारा टार्नेखालको संविधान नभएर आमजनताको भावना समेट्ने संविधान बनाउन लागेको बताए ।