शासकीय स्वरुपका विषयमा सहमति खोज्न काँग्रेसमा छलफल

भदौ ४, काठमाडौँ – संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले शासकीय स्वरुप, सङ्घीयतालगायतका विषयमा छलफल प्रवेश गराएपछि दलहरूबीच पनि सहमतिका लागि अनौपचारिक संवादले तीव्रता पाएको छ । संविधान जारी गर्ने मिति नजिकिदै जाँदा  प्रत्येक दलभित्रै बदलिदो अवस्थामा के धारणा हुने भन्नेमा छलफल गरेर मात्र राजनीतिक दलहरूबीच साझा धारणा बनाउन सकिने भन्दै नेपाली  काँग्रेसले पनि पार्टीमा छलफल थालेको हो  ।

काँग्रेसले तोकिएकै समयमा संविधान बनाउन संविधानका विवादित विषयमा पार्टीको अडानसहित सहमतिको आधार खोज्न आज पनी छलफल गर्दैछ ।  प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा हुने छलफलमा सङ्घीयता, शासकीयस्वरुप, न्याय प्रणालीसहितका विषयमा सहमति खोजीने प्रवक्ता दिलेन्द्र प्रसाद बडुले जानकारी दिए । प्रवक्ता  बडुका अनुसार आजको बैठकमा पनी काँग्रेस पदाधिकारी, संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिमा पार्टीका तर्फबाट सहभागी सभासद एवम् मन्त्रीहरूसहितको सहभागितामा हुनेछ ।

मानव अधिकार, प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायालयजस्ता लोकतान्त्रिक मूल्य मान्यतालाई नै आधार बनाएर काँग्रेस सहमतिका लागि अघि बढ्ने बारेमा छलफल भएको बुझिएको छ । यसअघि काँग्रसको हिजोको बैठकले देशका विभिन्न भागमा अविरल वर्षाका कारण ठूलो धनजनको क्षति भएको भन्दै त्यसमा राहत, उद्धार र पुनःस्थापनाका कामलाई तीव्रताका साथ अघि बढाउन सरकार र पार्टीका नेता कार्यकर्तालाई आह्वान गरेको प्रवक्ता बडूले बताउनुभयो ।