संविधान निर्माणमा सञ्चारकर्मीको सहयोग जरुरी –डा भट्टराई

भदौ ३, काठमाडौं – संवैधानिक, राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईले प्रेस स्वतन्त्रता अनुल्लङ्घनीय विषय भएको बताएका छन्  । समितिद्वारा मंगलबार संचारकर्मीसँग आयोजित संवाद कार्यक्रममा सभापति डा भट्टराईले भावी संविधान अधिकतम लोकतान्त्रिक, अग्रगामी र समावेशी बनाइनुपर्ने विचार राखेका छन् ।डा भट्राइले मंगलबार संसद्मा उपस्थित राजनीतिक दलबीच संविधान बनाउनुपर्नेमा समान धारणा विकसित भएको र  यस काममा सञ्चारमाध्यम र पत्रकारसमेत सरोकार भएका सबैको सहयोग हुने बताएका हुन् ।

संविधान सहमतिको दस्तावेज भएको भन्दै भट्राइले  संविधानलाई असंशोधनीय ग्रन्थ मान्न र बनाउन  नहुने स्पष्ट पारेका छन् । संविधानसभाभन्दा बाहिर रहेका पक्षलाई पनि संविधान निर्माणका विषयमा सहमति जुटाउने प्रयास भइरहेको जानकारी दिँदै सभापति डा भट्टराईले त्यस्ता पक्षसँग राजनीतिक तहबाट सहमति खोजिने र प्रधानमन्त्रीको नेतृत्वमा वार्ता हुने बताए ।

संविधान बनाउने प्रक्रियाबाट कसैलाई पनि बाहिर राख्ने आफूहरूको उद्देश्य नरहेको उल्लेख गर्दै भट्राइले सबै पक्ष लोकतान्त्रिक विधिमा आउनुपर्ने र संविधान कुनै पनि दलको अवधारणा वा सोचबाट मात्र निर्माण हुन सम्भव नरहेको स्पष्ट  पारेका छन् ।     समितिका सभापति डा भट्टराईले संविधानमा प्रेस स्वतन्त्रता अक्षुण्ण हुने जानकारी दिनुभएको सो संवाद कार्यक्रममा विभिन्न सञ्चारमाध्यमका प्रमुख र प्रतिनिधिको सहभागिता थियो ।