भ्रष्टाचार समाप्त गर्छु – प्रम कोइराला

भदौ ३, काठमाडौं – प्रधानमन्त्री सुशील कोइरालाले भ्रष्टाचार नियन्त्रण गर्ने निकायलाई सशक्त गरे जनतामा नयाँ आशाको सञ्चार गर्न सकिने बताएका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयको आठौंँ स्थापना दिवसका उपलक्ष्यमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कोइरालाले आफूले भ्रष्टाचारलाई समाप्त गर्न खोजिरहेको बताए ।

ठूला निकाय र संस्था भए पनि भ्रष्ट्राचार रोकिन नसकेको र विगतमा मुलुकलाई हर क्षेत्रमा लुटिएको र ठगिएको उल्लेख गर्दै प्रधानमन्त्रीले भने मुलुकमा कति काण्ड भए, सजाय कसैलाई भएन, खरिदार, मुखिया र उपसचिव जस्ता तल्लो तहका कर्मचारीलाई कारबाही गरेर झारा टारियो । प्रधानमन्त्री कोइरालाले जनतामा पनि मुलुकमा शान्ति, लोकतन्त्र र संविधान बनोस् र कानुनी शासनको पद्धति बसोस् भन्ने चाहना रहेको बताउँदै कर्मचारीले सही र सत्य कुरामा अडेर नियमानुसार काम गरेमा मुुलुक बन्न समय नलाग्ने धारणा बताएका छन् ।

सोही अवसरमा प्रधानमन्त्री कोइरालाले भारतले सहयोगको हात बढाएको प्रसङ्ग उल्लेख गर्दै नेपाललाई तल पारेर म कुनै सम्झौता नर्गर्ने बताएका छन् ।  उनले  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको हालै सम्पन्न नेपाल भ्रमणको उल्लेख गर्दै राष्ट्रिय  हितका लागि समानताका आधारमा गरिने सम्झौता गर्ने बताए ।  प्रधानमन्त्रीले आफूले सानो मुलुकको संवेदनशीलतालाई बुझिदिनुस् भन्दा भारतीय प्रधानमन्त्रीले सार्वभौमसत्ता सम्पन्न नेपालको हैसियत बराबरी भन्ने विचार प्रकट गर्नुभएको प्रसङ्ग पनि उल्लेख गरेका छन्  ।