वर्षाले दर्जन बढी विद्युत् आयोजना बन्द

भदौ ३, गोरखा – अविरल वर्षापछि गएको पहिरोले उत्तरी गोरखाका एक दर्जनभन्दा बढी लघुजलविद्युत् आयोजना बन्द भएका छन् ।  पहिरोले विद्युत् गृह पुरेको र खोलादेखि विद्युत् गृहसम्म पानी लगिएको पाइप बगाएका कारण विद्युत् उत्पादन ठप्प भएको छ । स्थानीय लुङ्गेतखोला लघुजलविद्युत् आयोजनाको पानी बग्ने पाइप पहिरोले लैजाँदा उत्पादन ठप्प भएको छ ।

आयोजना बन्द हुँदा उहियाको १, ३ र ४ वडाका स्थानीय जनता रातमा अन्धकारमा बस्न बाध्य छन् । “पहिरोले २५ मिटर पाइप नै बगाएको स्थानीस्य बताउँछन् । गत असार १ गतेदेखि सञ्चालनमा आएको आयोजना बन्द भएपछि रातमा बत्ती बाल्न र मोबाइल चार्ज गर्न समस्या भएको छ ।     त्यस्तै, वर्षाले लापु गाविसमा रहेको नोलीखोला लघुजलविद्युत् आयोजना पनि क्षति भएको छ । ३० किलोवाट क्षमताको उक्त आयोजनाको पानी सङ्कलन गर्ने ट्याङ्की बगाएको छ ।

हाल दुई सय घरधुरीले विद्युत् प्रयोग गर्न पाएका छैनन् ।  पर्यटकीय गाउँ बारपाकको लघुजलविद्युत् आयोजनाको विद्युत गृह पहिरोले पुरेपछि विद्युत् उत्पादन ठप्प भएको छ ।  पाँच किलोवाट क्षमताको बारपाक–२ को बाल्चे–राङरुङ खोलास्थित विद्युत् गृह माथिबाट झरेको पहिरोले पुरेको हो । एक हप्ताअघिदेखि विद्युत् उत्पादन ठप्प हुँदा स्थानीय जनतालाई सास्ती भएको स्थानीयले बताएका छन् ।