सहमति खोज्न काँग्रेसले थाल्यो छलफल

भदौ ३, काठमाडौँ – राजनीतिक दलहरुले संविधान जारी गर्ने भनीएको मिति माघ ८ गतेभित्र संविधान जारी गर्ने प्रतिबद्वताअनुरुप समयसीमा छोटिदै गएपछि दलहरूले संविधान बनाउन विवादित विषयमा छलफल थालेका छन् ।  यसैक्रममा प्रत्येक दलभित्रै बदलिदो अवस्थामा के धारणा हुने भन्नेमा छलफल गरेर मात्र राजनीतिक दलहरूबीच साझा धारणा बनाउन सकिने भन्दै काँग्रेसले पनि पार्टीमा छलफल थालेको छ  ।

काँग्रेसले तोकिएकै समयमा संविधान बनाउन संविधानका विवादित विषयमा पार्टीको अडानसहित सहमतिको आधार खोज्न पार्टीभित्र आन्तरिक छलफल सुरु गरेको छ । काँग्रेस पदाधिकारी, संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिमा पार्टीका तर्फबाट सहभागी सभासद एवम् मन्त्रीहरूसहितको सहभागितामा प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले सङ्घीयता, शासकीयस्वरुप, न्याय प्रणालीसहितका विषयमा सहमति खोज्नेबारे पार्टीभित्र छलफल सुरु गरेको प्रवक्ता दिलेन्द्र प्रसाद बडुले जानकारी दिए ।

बडुका अनुसार  पार्टीले यसअघि प्रस्तुत गरेको तथा चुनावमा पार्टीले घोषणापत्रमा राखेको अवधारणाका आधारमा अघि बढ्नेबारेमा पार्टीभित्र छलफल सुरु गरेको हो । प्रवक्ता बडुले २०६९ जेठ २ गते प्रमुख दलहरूबीच भएको सहमति सन्दर्भ सामग्रीका रुपमा रहेको बताउँदै शासकीय स्वरुप, सङ्घीयता, न्याय प्रणाली बारेमा पार्टीको अन्तिम निष्कर्षसहितको धारणा बनाउन बुधबार पुनः बैठक बस्ने बताए । जेठ २ को सहमति आधार भएको छ त्यो नै अन्तिम नभएको काँग्रसको निष्कर्ष  छ ।