बाढीपहिरोबाट २० हजार परिवार विस्थापित

भदौ ३, काठमाडौ – बाढीपहिरोबाट ५ दिन यता ज्यान गुमाउनेको संख्या १ सय ५ पुगेको छ । गृहमन्त्रालयका अनुसार अझै   १ सय ३६ जना अझै बेपत्ता  रहेका छन् । ४२ जना घाइते भएका छन् ।

गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले सोमबार अपराह्न जारी विज्ञप्तिका अनुसार बाढी पहिरोबाट २० हजार २ सय ३९ परिवार विस्थापित भएका छन् । विस्थापित हुनेमा बर्दियामा १४ हजार ४ सय २४, बाँकेमा २ हजार ५, कैलालीमा १७ सय ४५, सुर्खेतमा १७ सय, दाङमा ३ सय, सल्यानमा ६५ परिवार छन् ।

बाढीपहिरोले घरबास विनाश  गरेको एक साता पुग्न लाग्दा पनि पनि राहत लिएर नआएपछि पीडित परिवारहरु भोकै नाङगै आफ्नो थलो छाड्न बाध्य छन् । बाढीपहिरोबाट ११ हजार ५ सय ८४ घर डुबानमा परेका छन् । बाँकेमा ६ हजार ३ सय ६४, बर्दियामा ३ हजार ८ सय ३७, सिराहामा ४ सय १५, रौतहटमा २ सय ५०, सुर्खेतमा ३ सय ७९, कैलालीमा २ सय, दाङमा ३५, मोरङमा ८४, चितवनमा २० घर डुबानमा परेको गृह मन्त्रालयले उल्लेख गरेको छ ।

बाढी पहिरोबाट ३ सय २८ घर पूर्ण रूपमा र १ सय ४५ घर आंशिक क्षति भएका छन् । दाङमा ३ सय,  कैलालीमा ११, जाजरकोटमा ५, रुकुममा २, खोटाङमा १, नवलपरासी ४ र सल्यानमा ५ वटा घर पूर्ण रूपमा क्षति भएका छन् । कैलालीमा १ सय ४५ घर आंशिक रूपमा क्षति भएका छन् । बाढी पहिरोका पीडितलाई हालसम्म ७ लाख ७० हजार रुपैयाँ राहत रकम बाँडिएको गृह मन्त्रालयले उल्लेख गरेको छ ।