निर्धारित समय अगावै संविधान – मन्त्री रिजाल

भदौ २, विराटनगर – सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले आगामी माघ ७ गते नेपाली जनताले सङ्घीय लोकतान्त्रिक नयाँ संविधान पाउने दाबी गरेका छन् ।     विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री रिजालले संविधान लेखन कार्य तालिका अन्तिम चरणमा पुगेकाले समयमै संविधान जारी हुने बताएका हुन् ।

नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री रिजालले प्रधानमन्त्रीले भदौ महिनाभित्र शासकीय स्वरुप र सङ्घीयतालगायतका विवादित विषयमा टुङ्गो लगाउन दलहरुबीच वार्ता एवम् छलफल सुरु गरिसक्नु भएको जानकारी दिए । प्रधानमन्त्रीले समयमै संविधान जारी गर्न विवादित विषयमा सहमति कायम नभएमा हस्तक्षेपकारी भूमिका समेत निर्वाह गर्न सक्ने मन्त्री डा रिजालले बताए ।

संविधानको मस्यौदा अन्तिम चरणमा पुगेकाले नयाँ बन्ने संविधानमा सबैको स्वामित्व कसरी कायम गर्न सकिन्छ भनेर आजदेखि प्रधानमन्त्रीले संविधानसभाभित्र र बाहिर रहेका दलहरुसँग छलफल सुरु गर्न लागेको  जानकारीसमेत उनmे दिए । मन्त्री डा रिजालले नेपाली काँग्रेस तथा एमालेबीच भएको सातबुँदे सहमति कार्यान्वयन गर्न काँग्रेस प्रतिबद्ध रहेको उल्लेख गर्दै सम्झौतामा केही त्रुटि भएमा त्यसलाई सच्चाएर अगाडि बढ्न सकिने धारणा व्यक्त गरे ।