अफ्रिकामा बस्ने नेपाली इबोलाबाट सुरिक्षत

भदौं २, काठमाडौं – पश्चिम अफ्रिकी मुलुकमा इबोला भाइरसको महामारी फैलिएपछि गैरआवासीय नेपाली संघ (एनआरएन) अफ्रिकाका संंयोजक हिक्मत थापालाईं भ्याइनभ्याई छ । परिवार, नातेदार, साथीभाइसँग अरु नेपालीले फोन र इमेल गरेर सोधेको सोध्यै हुन्छन्, इबोला भाइरस प्रभावित नाइजेरियामा कार्यरत उनले टेलिफोनमा भने, ‘यहाँ भन्दा बाहिर पो बढी त्रास रहेछ ।

थापाका अनुसार पश्चिम अफ्रिकी मुलुकमा कार्यरत नेपालीमा भाइरस संक्रमण भएको जानकारी छैन । ‘यतातिरका सवै नेपालीसँग सम्पर्क भइरहेको छ, उनले भने, ‘कोही पनि संक्रमित छैनन् । सवैलाई सतर्कता अपनाउँन आग्रह गरेका छौं । उनीहरु सचेत पनि छन् ।’ नागरिक दैनिकमा खबर छ ।

इबोलाबाट पश्चिमी अफ्रिकाका लाइबेरिया, सियरा लियोन, गिनी बढी प्रभावित छन् भने नाइजेरियामा पनि केही संक्रमित देखिएका छन् । इबोलाका कारण एक हजार भन्दा बढीको मृत्यु भई सकेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । लाइबेरियामा मात्रै ६ सय ७० संक्रमित मध्ये ३ सय ५५ जनाको मृत्यु भइसकेको छ ।

डब्लुएचओमा ट्रपिकल डिजिज र पब्लिक हेल्थ विशेषज्ञका रुपमा कार्यरत नेपाली चिकित्सक ताराप्रसाद श्रेष्ठले सचेत मानिस भएको ठाउँमा बढी त्रास रहेको बताए ।

नाइजेरियाको कार्डुना क्षेत्रमा रहेका उनले नाइजेरिया र अन्य स्थानमा रहेका नेपालीले सम्पर्क गरिरहेको बताए । ‘कसरी बच्ने भनेर फोन आउँछ,’ श्रेष्ठले भने, ‘विभिन्न किसिमका अफवाह फैलिने गरेका छन् । त्यसले पनि त्रास बढाएको छ ।’ एनआरएनले त्याहाँ रहेका नेपालीलाई आवश्यक परे श्रेष्ठसँगै सम्पर्क गर्न सूचना जारी गरेको छ । इबोला फैलिएको देशमा भेट हुँदा हात मिलाउँन छाडिएको छ ।