भेरीको बाढीबाट ४३ बेपत्ता, दर्जनौं घरबार बिहिन

भदौ १,  सुर्खेत  –  अविरल परेको बर्षासँगै देशभर मानवीय तथा धनजनको क्षतीका खबर आइरहेका बेला सुर्खेतमा अर्को विपत आइलागेको  छ ।  सुर्खेतमा भेरी नदीको बाढीमा बगेर अहिलेसम्म ४३ जना वेपत्ता भएका छन् । सुर्खेतका तातापानी र बाबियाचौर गाविसमा गरी ४३ जना बगेको तथ्यांक आएको हो । तातापानी–७ को जामु गाउँका वेदप्रसाद रेग्मीको परिवारका सात जनालाई बाढीले बगाएको छ ।

त्यसैगरी तातापानी–६ को गल्फा गाउँका सज्जन र डबल टमटाको परिवारका १२ जनालाई पनि बाढीले बगाएर लगेको छ । सोही वडाकै डिल्ली बिश्वकर्मा र उनका ३ छोरी पनि बाढीमा बगेका छन् ।

त्यसैगरी बच्छी गाउँका जोरा सिंह खत्रीका श्रीमान्–श्रीमतीसहित ४ जना पनि बगेका छन् । तातापानी–९ को चाम्रीमा पनि दुई जना बगेका छन् भने बाबियाचौर गाविसमा मात्रै १४ जनालाई बाढीले बगाएको छ । ती मध्ये बाबियाचौरका २ जना माझी महिलाको मात्र शव फेला परेको शिक्षक खनालले जानकारी दिए ।

यस्तै घाट गाउँमा मानवीय क्षति नभएपनि दर्जनौं घर तथा चौपाया बाढीमा बगेका छन् । सो क्षेत्रमा एक सयभन्दा बढी गाई, भैंसी, बाख्रा लगायतका चौपायाहरु बढेका छन् भने ३ दर्जन भन्दा बढी घरहरु पूर्ण रुपमा बगेका छन् भने दर्जनौ घरमा क्षति पुगेको छ ।