२६ मा कलाकारलाई पनि सहभागित गराउन माग

भदौ १, काठमाडौँ – कलाकारहरुले सरकारले मनोनित गर्ने २६ जना सभासदमा आफूहरुको पनि प्रतिनिधित्व हुनुपर्ने माग गरेका छन् ।  राजधानीमा आयोजीत कार्यक्रममा कलाकारहरुले कला, संस्कृतिको संरक्षण तथा प्रर्वद्धनका लागि आफूहरुको पनि संविधानसभामा प्रतिनिधित्व हुनुपर्ने धारणा राखेका हुन् ।

बरिष्ठ गीतकार एवम् चलचित्र निर्देशक यादव खरेलले राष्ट्रिय जीवनमा कलाकारहरुले महत्वपूर्ण योगदान गरेको उल्लेखगर्दै आगामी दिनमा कला, भाषा, संस्कृति र सिर्जनाको जर्गेना गर्न पनि संविधानसभामा प्रतिनिधित्व हुनुपर्ने बताए  ।  बरिष्ठ रँगकर्मी अशेष मल्लले सरकारले मनोनित गर्ने २६ सभासदमा कलाकरहरुकै प्रतिनिधित्व हुनुपर्छ भन्ने नभएर कला र संस्कृतिको जर्गेना गर्न राष्ट्रिय रुपमा महत्वपूर्ण योगदान गर्ने मान्छेहरुको संविधानसभामा उपस्थिति अनिवार्य रहेको स्पष्ट पारे ।

यस्तै लोक गायिका कोमल ओलीले पनि कलाकारहरुलाई राज्यले सँधै उपेक्षा गरेको आरोप लगाँउदै आफ्ना एजेण्डाहरुलाई घनिभूत रुपमा संविधानमा दर्ज गराउन पनि संविधान सभामा कलाकारहरुको उपस्थिति अनिवार्य रहेको बताइन् । ओलीले कलाकारहरुलाई राजनीतिक दलको सिफारिशमा भन्दा पनि राष्ट्रिय सहमतीका आधारमा संविधान सभामा प्रतिनिधित्व गराउनुपर्ने धारणा राखेकी थिइन् ।