एमाले विपत्ति कोषमा २५ लाख जम्मा

भदौ १, काठमाडौँ –  नेकपा एमालेले वर्षाका कारण आएको बाढीपहिरो र डुबानबाट पीडित नागरिकलाई सहयोग गर्न ‘केन्द्रीय पा्रकृतिक विपत्ति कोष’ गठन गरी आर्थिक सहयोग सङ्कलन सुरु गरेको छ । एमालेले सो कोषमा पार्टी पदाधिकारी, केन्द्रीय सदस्य, सभासद् र मन्त्रीबाट प्रतिव्यक्ति रु सात हजार र एमालेबाट राजनीतिक नियुक्ति प्राप्त व्यक्तिबाट पाँच हजारका दरले सहयोग सङ्कलन गर्ने सचिव प्रदीपकुमार ज्ञवालीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

पार्टी केन्द्रीय कार्यालय मदननगरमा आज बसेको केन्द्रीय सचिवालयको बैठकले सो निर्णय गर्दै कृषि विकास बैँकमा खाता खोलेर कोष सञ्चालनका लागि महासचिव ईश्वर पोखरेल, सचिव पृथ्वीसुब्बा गुरुङ र केन्द्रीय लेखा शाखा प्रमुख खेमराज पौडेललाई जिम्मा दिएको विज्ञप्तिमा उल्लेख छ ।

बैठकले कोषमा अधिकतम योगदान गर्न पार्टी सम्बद्ध जनवर्गीय सङ्गठन, सम्पर्क मञ्च, स्थानीय पार्टी पार्टी कमिटी एवम् प्रवासी नेपाली मञ्चलाई आह्वान गरेको छ । कोषमा आजसम्ममा करिब रु २५ लाख जम्मा भइसकेको र पार्टीका तर्फबाट छिट्टै प्रभावित जिल्लामा राहत रकम हस्तान्तरण कार्यक्रम तर्जुमा गरिने बताइएको छ ।