एसिसी युु–१६ मा नेपालको जितको ह्‍याट्रिक

भदौ १, काठमाडौँ – नेपालले एसिसी यु–१६ प्रिमियर क्रिकेटमा जितको ह्याट्रिक गरेको छ। मलेसियामा भइरहेको प्रतियोगितामा नेपालले आइतबार ओमानलाई १ सय २ रनले पराजित गर्‍यो। जितेन्द्रसिंह ठकुरीले प्रतियोगितामा आफ्नो उत्कृष्ट प्रदर्शनलाई जारी राख्दा नेपालले ओमानलाई १ सय ६५ रनको लक्ष्य तेर्स्याएको थियो। रोयल सेलान्गर क्लबमा जबाफमा आएको ओमानलाई नेपालले २९ ओभरमा ६२ रनमै खुम्चायो।

देव्रेहाते स्पिनर अनिल खरेलले ६ विकेट लिएर ओमानलाई धरासायी बनाए। बुटवलका १३ वर्षे अनिल नेपाली टोलीका कान्छा खेलाडी हुन्। म्यान अफ द म्याच अनिलले सोक्रममा १६ रनमात्र खर्चेका थिए।  नेपालले यसअघिका दुवै खेल जितिसकेको छ। नेपालले पहिलो खेलमा थाइल्यान्डलाई १० विकेटले र सिंगापुरलाई ४९ रनले पराजित गरेको थियो। बाँकी दुवै खेल जिते नेपाल विजेता बन्ने छ।

नेपालले सोमबार बहराइनसँग र बुधबार आयोजक एवं डिफेन्डिङ च्याम्पियन मलेसियासँग खेल्नेछ। नागरिक न्युजमा खबर छ । जितेन्द्रको अविजित ३२ रनमा नेपाल पूरा ४० ओभर खेली १ सय ६४ रनमा अलआउट भयो। ५७ बलका खेलेका जितेन्द्रले कुनै चौका प्रहार गर्न भने सकेनन्। नेपाली इनिङ्समा केवल २ चौका समावेश थियो। आशिफ शेख र प्रनित थापाले मात्र १–१ चौका प्रहार गरेका थिए। उपकप्तान आशिफ १२ र प्रनित १६ रनमा आउट भए।

नेपालबाट अन्य खेलाडीमा शुशान्तसिंह थापाले १७, रवि शाहले ९, रवीन्द्र जंग शाहले २५, कप्तान सुमित महर्जनले १४, पवन सर्राफले ८ र अनिल खरेलले ३ रन जोडे। विजय चौधरी र आशिष पोखरेल खाता नखोली आउट भए। ओमानका हितेश कुमारले ५ र महेश कुमारले २ विकेट लिए।