झडपमा एकको मृत्यु, एक घाइते

साउन ३१,सुनसरी – सुनसरीको पश्चिम कुशहा गाविस–२ मा जग्गाको विषयमा दुई समूहबीच भएको झडपमा एकजनाको मृत्यु भएको छ । परशुराम यादव र भागवत यादव पक्षबीच जग्गाको विषयलाई लिएर भएको झडपमा परी भागवतको मृत्यु भएको हो ।

 शनिबार बिहान ७: ३० बजे यादव परिवारबीच विवाद भएको र त्यसपछि लाठी र फोर्साले हानाहान भएपछि भागवतको मृत्यु भएको सुनसरी प्रहरीले जनाएको  छ । झडपमा भागवतका भाइ हीरालाल यादव गम्भीर घाइते भएका छन् ।

हीरालालको टाउकोमा फलामको छडले घोपिएपछि टाउकोमा सातवटा टाँका लगाइएको र थप उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल पठाइएको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेको आरोपमा ३० वर्षीय रमेश यादवसहित चारजनालाई प्रहरीले घटनास्थलबाटै नियन्त्रणमा लिएको छ ।

मृतक यादवको शव परीक्षण गरेर परिवारलाई जिम्मा लगाइएको अस्पतालले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।