संविधान पछि राजनीतिक स्थायित्व – प्रम कोइराला

साउन ३१, काठमाडौँ  – प्रधानमन्त्री सुशील कोइरालाले संविधान जारी भएपछि नेपालमा राजनीतिक स्थायित्व कायम हुँदै शान्ति र विकासका मार्गमा देश उन्मुख हुने बताएका छन् ।

प्रा वासुदेवचन्द्र मल्ल स्मृति प्रतिष्ठानद्वारा आज आयोजित प्राविसी मल्ल स्मृति पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री कोइरालाले पठाएको लिखित शुभकामना मन्तव्यमा उनले संविधान निर्माण कार्यलाई समयमै सम्पन्न गर्ने गरी काम बढिरहेको उल्लेख गरेका छन् ।

नेपालमा सात दशकदेखिको सङ्घर्षको उपलब्धिस्वरूप प्राप्त संविधानसभाले माघ ८ गतेभित्रै संविधान जारी गर्ने विश्वास व्यक्त गर्दै सन्देशमा संविधान लेखनलाई निष्कर्षमा पुर्याउन संवैधानिक समितिहरू सक्रिय रहेको जनाइएको छ ।

समाजलाई शिक्षा र प्रजातन्त्रको मार्गमा लैजान प्रा वासुदेवचन्द्र मल्लले पुर्याउनुभएको योगदान महत्वपूर्ण भएको चर्चा गर्दै सन्देशमा विद्वत् वर्ग समाजको आँखा भएको प्रधानमन्त्रीले जनाएका छन्  ।